काठमाडौं । फागुन २१ को चुनावपछि बनेको एकल बहुमत सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सेयरबजारले बेवास्ता गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमप्रति लगानीकर्ता आश्वस्त हुन नसकेका हुन् ।
योसँगै सोमबार ३८ अंकले बढेको बजारमा मंगलबार ३९ दशमलव ४४ अंकको गिरावट देखिएको हो । उक्त गिरावटपछि बजार परिसूचक नेप्से २७ सय ४४ दशमलव ४० विन्दुमा खुम्चिएको छ । यस दिन तीन सय ३८ वटा सेयर ६२ हजार पाँच सय १२ पटक कारोबार भएकामा एक करोड छ लाख ७८ हजार पाँच सय ५० कित्ता खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीसँगै कुल चार अर्ब ६६ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस दिन १३ मध्ये सामूहिक लगानी कोष मात्रै बढ्यो । बाँकी समूहहरू राताम्य रहे । यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा धौलागिरी लघुवित्त वित्तीय संस्था परेकोमा गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था परेको छ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड भने यस दिन सबैभन्दा बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्र्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा शक्तिशाली सरकार बने पनि सेयर लगानीकर्ताले ‘पर्ख र हेर’को नीतिमा कुनै परिवर्तन गरेका छैनन् । फलतः सरकार बनेदेखि नै बजारमा उल्लेखनीय बढावट देखिएको छैन । नयाँ सरकारले सय कामको सूची नै सार्वजनिक गरेर अघि बढेको थियो । तर त्यसलाई लगानीकर्ताले पत्याउन सकेका छैनन् । सोही क्रममा सोमबार सरकारले आगामी आवको नीति तथा कार्यक्रम ल्याए पनि बजारले विश्वास गर्न सकेको छैन ।
नीति तथा कार्यक्रममा पुँजीबजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदन्डअनुसार विकास गरिने वाचा सरकारले गरेको छ । त्यसैगरी धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने प्रतिबद्धता गरिएको छ । ऋणबजार, बन्ड बजार र पूर्वाधार बन्डको विकास गरी दीर्घकालीन पुँजी निर्माण गर्ने सरकारको नीति छ । यसबाहेक सेयरबजारलक्षित थप नीति तथा कार्यक्रममा उल्लेख छैन । ठोस कार्यक्रम र नीति नआएपछि लगानीकर्ता ‘पर्ख र हेर’मै रहेका छन् ।