नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन् । प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सिन्धुलीबाट पक्राउ गरेको हो ।
सीआईबीका अनुसार पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बीपी राजमार्ग क्षेत्रमा राति करिब ८ बजे पक्राउ गरिएको हो । केही दिनदेखि निगरानीमा रहेका पाण्डे मोबाइल अफ गरेर भाग्ने प्रयासमा रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौंको रक्तकाली स्थायी ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेलाई पक्राउपछि काठमाडौं ल्याइएको छ । उनीविरुद्ध मुलुकी अपराध संहिता अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
प्रहरीका अनुसार पाण्डे बैंकको ‘लोन रिकभरी कमिटी’ का अध्यक्षसमेत थिए । सोही हैसियतमा उनी स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा संलग्न रहेको अनुसन्धानबाट खुलेको बताइएको छ ।
सिआईबीले २०७० वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन अनुमति लिएको थियो । तर नियमानुसार अनुमति नवीकरण नगरेपछि कम्पनीको अनुमतिपत्र खारेज गरिएको थियो ।
त्यसपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ अनुसार स्मार्ट टेलिकमका सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना तथा नेटवर्क प्रणालीले आफ्नो नियन्त्रणमा लिएको थियो ।
तर, सीआईबीको प्रारम्भिक अनुसन्धानअनुसार नेपाल सरकारको स्वामित्वमा आइसकेको उक्त सम्पत्ति हिनामिना गरी सरकारको हक कमजोर बनाउने उद्देश्यसहित गैरकानुनी प्रक्रिया अघि बढाइएको आरोप छ । सोही प्रकरणमा पाण्डेमाथि अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।