अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई लाई ज्यान मार्ने धम्की दिएको प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित तीन जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार अधिकारीको योजनामा धम्की दिने काभ्रेका प्रकाश पाठक र झापाका ताराप्रसाद खरेलविरुद्ध आपराधिक षड्यन्त्र, संगठित अपराध, आपराधिक लाभ, हुन्डी तथा विद्युतीय कारोबारसम्बन्धी कसुरमा अभियोग दर्ता गरेको हो।
प्रहरी अनुसन्धानअनुसार नलिनचोक हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार प्रकरणमा अख्तियारले छानबिन अगाडि बढाएपछि अधिकारीले अनुसन्धान प्रभावित पार्न अख्तियार प्रमुख राईलाई धम्की दिने योजना बनाएका थिए। अनुसन्धानका क्रममा प्रकाश पाठकलाई दुई करोड रुपैयाँ उपलब्ध गराएर धम्की दिलाइएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पाठकले रकम असुली तथा दबाब सिर्जना गर्न छुट्टै आपराधिक सञ्जाल खडा गरेका थिए। सुरुमा उनले सोही समूह प्रयोग गरेर प्रदीप अधिकारीलाई नै धम्की दिँदै एक करोड रुपैयाँ माग गरेको देखिए पनि पछि त्यो सम्पूर्ण योजना अधिकारीकै निर्देशनमा सञ्चालन भएको खुलेको हो।
अनुसन्धानमा पाठकले दिएको बयानअनुसार अख्तियार प्रमुख राईलाई राजीनामा दिन बाध्य पार्न सफल भए ८ देखि १० करोड रुपैयाँ दिने सहमति भएको थियो। उनले कबोल गरिएको रकममध्ये दुई करोड रुपैयाँ आफूले प्राप्त गरिसकेको बयान दिएका छन्।
प्रहरीका अनुसार सन् २०२५ नोभेम्बर २९ मा पाठकले इमेलमार्फत अख्तियार प्रमुख राईलाई १० दिनभित्र राजीनामा दिन र अन्यथा ज्यान लिने चेतावनी दिएका थिए। त्यसपछि राईले आफूलाई आएको धम्कीबारे प्रहरीमा जाहेरी दिएका थिए।
उक्त जाहेरीपछि जिल्ला प्रहरी परिसर काठमाडौंले विस्तृत अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा अधिकारी र पाठकबीच पुरानै सम्बन्ध रहेको तथ्य खुलेको छ। पाठक विगतमा राष्ट्रिय युवा संघसँग आबद्ध थिए भने अधिकारी इन्जिनियर एसोसिएसनमा सक्रिय थिए। त्यही समयदेखि उनीहरूबीच चिनजान र नियमित सम्पर्क रहेको प्रहरीको निष्कर्ष छ।
प्रहरीले घटनालाई संगठित रूपमा अनुसन्धान प्रभावित पार्ने, राज्य संयन्त्रमाथि दबाब सिर्जना गर्ने तथा अख्तियारको अनुसन्धान अवरुद्ध पार्ने उद्देश्यसहित सञ्चालन गरिएको गम्भीर आपराधिक योजनाका रूपमा व्याख्या गरेको छ।