काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विवादास्पद निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको ललितपुरको मानभवनस्थित घरमा बस्न थालेका छन् । प्रचण्ड उनै निर्माण व्यवसायी अधिकारीको खुमलटारको घरमा २०७४ सालदेखि बस्दै आए पनि गत भदौ २४ बिहान उक्त घरलाई जेनजी आन्दोलनकारीले जलाएपछि प्रचण्ड हात्तीबनमा रहेको टिबी पाठकको घरमा बस्दै आएका थिए । पाठक प्रचण्डका सम्धि हुन् ।
खुमलटारमा बस्न जानुअघि प्रचण्ड लाजिम्पाटमा बस्दै आएका थिए । उक्त घरमा छोरा प्रकाश दाहालको मृत्यु भएपछि उनी खुमलटार सरेका थिए । शारदा अधिकारीले प्रचण्डलाई सहयोग गरेको कारण प्रचण्डबाट पनि अधिकारीले विभिन्न सरकारी ठेक्का सहजै पाउँदै आएका छन् । काम नगरे पनि अधिकारी कारबाहीबाट बच्दै आएका छन् । अध्यक्ष प्रचण्डको सुरक्षा व्यवस्थापन सहज हुने भएकाले उक्त निवास प्रयोग गरिएको दाबी उनी निकट नेताहरुले गरेका छन् । करिब एक महिनाअगाडि प्रचण्ड मानभवन सरेको बताइएको छ ।