काठमाडौं । नेपालबाट निर्यात हुने चियामा भारत सरकारले सतप्रतिशत ल्याब परिक्षणको नाममा अवरोध गरेको छ । परराष्ट्र मन्त्रालयले चियाको ल्याब परीक्षण सुरु हुनुभन्दा १८ दिन अघि नै निर्यातमा सहजीकरण गरिदिन पत्राचार गरे पनि भारतीय पक्षले लत्याएको हो ।
परराष्ट्र मन्त्रालयले भारतीय विदेश मन्त्रालयलाई पत्र लेखेको थियो । ‘हामीले नेपालको चिया निर्यातको विषयलाई लिएर परराष्ट्रमार्फत् हुदै भारतीय पक्षलाई पत्राचार गरी जानकारी गराएका थियौँ’, उद्योग, वाािण्ज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुबेदीले भने, ‘चिया निर्यातलाई लिएर हामीले भारतीय पक्षलाई जानकारी गराइसेका छौं ।’ यस विषयमा थप जानकारी लिने उनले बताए ।
नेपालबाट निर्यात हुने चियामा भारत सरकारले सतप्रतिशत ल्याब परीक्षणको नियम २०२६ मे १ (१८ वैशाख) बाट लागु गर्ने जानकारी गराएको थियो । त्यसपछि गत चैत ३० मा परारष्ट्र मन्त्रालयमार्फ्त भारत सरकारलाई पत्राचार गरिएको थियो । तर भारतीय पक्षले पत्रको बेवास्ता गरेपछि भन्सार नाकामा नेपाली चिया परिक्षणको नाममा निर्यात ठप्प बनाइएको छ । नेपाली चिया भारतीय नाका हुँदै तेस्रो मुलुकमा निर्यात हुन्छ । नेपाली चियाको ठूलो बजारमध्ये भारत पनि हो । निर्यात अवरोध भए सँगै नेपाली उत्पादक तथा व्यवसायीहरु समस्यामा परेका छन् । नेपाली चिया गुणस्तर भएमा मात्रै निर्यात गर्न दिन भारतीय पक्षले नमान्दा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् ।
भारतीय पक्षले बिना कारण नेपाली चिया निर्यातमा अवरोध गर्ने गरेको आरोप नेपाल टी एसोशिएसनको छ । नेपाली चियालाई भारतीय पक्षबाट अवरोध भएको पहिलो पटक नभएको एसोशिएसनका अधिकारीहरु बताउछन् । हाल नेपाली चिया निर्यातको सिजन छ । सिजनमा भारतीय पक्षको कारणले गर्दा नेपाली चिया निकास गर्न नपाउदा किसान देखि व्यवसायी समेतले घाटा व्यहोनुपर्ने समस्या हुने एसोशिएसनका अध्यक्ष कमल मैनालीले बताए । यसअघि वर्षमा दुई पटक मात्र नेपाली चियाको गुणस्तर परिक्षण गर्ने गरेकोमा हाल भारतीय पक्षले प्रत्येक सवारी साधनको चिया परिक्षण गर्ने गरेको उनले जानकारी दिए । यसरी भारतीय पक्षले हेरक सवारी साधानको चिया परीक्षण गर्दा समय धेरै लाग्ने ,खर्च बढी लाग्ने र झन्झटिलो प्रक्रिया भएको व्यवसायीहरुको भनाई छ । नेपाली चिया भारतीय चियाको तुलनामा गुणस्तरीय हुनुका कारणले गर्दा भारतीय व्यवसायीहरुले दखु दिने गरेको नेपाली व्यवसायीहरु बताउछन् । भारतीय पक्ष नेपालको जस्तो गुणस्तरीय चिया निर्यात गदैनन् जसको कारणले गर्दा नेपाली चियामा अवरोध गर्ने गरेको एक चिया व्यवासायीले बताए ।
वैशाख तेस्रो सातादेखि भारतीय पक्षले नेपाली चिया निर्यातका लागि अवरोध गरेका हुन् । मे १ अर्थात् १८ वैशाख देखि चियाको ल्याब परीक्षण गर्ने भारतीय पक्षको अडान थियो त्यसको भोलिपल्ट १९ वैशाख शनिबारदेखि नेपाली चिया निर्यातमा समस्या भएको हो । नेपाली चिया निर्यातको अवरोध आजसम्म पनि कायम रहेको छ । मन्त्रालयले आवश्यक पत्राचार गरेको छ तर भारतीय पक्षले बिनाकारण नेपाली व्यवासायीलाई चिया निर्यातको लागि दुख दिइरहेको छ ।
भारतीय पक्षले चिया निर्यातमा अवरोध गरे सँगै बुधबारको संसदमा बैठकमा सो विषय उठान भएको छ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले बुधबारको प्रतिनिधि सभा बैठकमा चिया निर्यातको अवरोध समाधान गर्न माग गरेका छन् । प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘चिया निर्यात ठप्प जस्तै भएको छ । यसको समाधान आवश्यक छ ।’
सांसद नेम्वाङले चिया निर्यात हुन नसक्दा किसान, श्रमिक, उद्योगी तथा व्यवासयाी र देशकै अर्थतन्त्रमा प्रभाव पारेको बताए । ‘यकसा लागि भारत सरकारसँग कुटनीतिक पहल गरियोस् । चिया निर्यातको अवरोध समाधान गरियोस्, ’उनले भने,‘हाल यसमा १५ हजार बढी किसान र ६० हजार बढी श्रमिक जोडिएको हुँदा यो समस्यालाई समाधान गर्न बाहेक विकल्प छैन ।’ सांसद नेम्वाङले नेपालमा चिया उत्पादनको एक सय ६३ वर्ष लामो इतिहास रहेको समेत जानकारी गराए ।