काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरीले उनीसहित काभ्रेका प्रकाश पाठक र झापाका ताराप्रसाद खरेलविरुद्ध विभिन्न कसुरमा मुद्दा दायर गरेको हो । अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको ज्यान लिन पाठकलाई सुपारी दिएका थिए । यसबारे आर्थिक दैनिकले खुलासा गरेको थियो ।
आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुन्डी, विद्युतीय कारोबार र संगठित अपराधको कसुरमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । अधिकारीविरुद्ध नलिनचोक हेलिपोर्टको भ्रष्टाचारमा अख्तियारले अनुसन्धान अगाडि बढाएपछि पाठकलाई दुई करोड रुपैयाँ दिएर राईलाई पाठकमार्फत धम्क्याइएको थियो ।
त्यसपछि पाठकले उक्त रकम उठाउन आपराधिक संगठन खडा गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यस क्रममा उनले अधिकारीकै योजनामा उनैसँग सुरुमा एक करोड मागेका थिए । त्यसपछि राईलाई धम्की दिएर राजीनामा दिन बाध्य पारे ८ देखि १० करोडसम्म दिने अधिकारीले कबोल गरेका थिए ।
कबोल रकममध्ये दुई करोड रुपैयाँ लिइसकेको पाठकले प्रहरीलाई बयान दिएका छन् । २०२५ नोभेम्बर २९ मा इमेल गर्दै पाठकले अख्तियार प्रमुख राईलाई १० दिनभित्र राजीनामा दिन र नदिए ज्यान लिने धम्की दिएका थिए । तर अख्तियार प्रमुख राईले आफूलाई आएको धम्कीका विवरणसहित प्रहरीमा जाहेरी दिएका थिए । त्योसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अगाडि बढाएको थियो ।
प्रहरीले तयार गरेको अभियोगपत्रअनुसार अधिकारी र पाठक पहिलेदेखिकै चिनजानमा रहेको देखिएको छ । पाठक पहिले राष्ट्रिय युवा संघमा आबद्ध र अधिकारी इन्जिनियर एसोसिएसनमा आबद्ध थिए । त्यही बेला उनीहरुबीच चिनजान भएको र त्यसयता नियमित कुराकानीमा रहेको देखिएको छ ।
पैसा असुली धन्दाका लागि पाठकले नेपालको अतिवादी समूह नाम दिएर संगठन खोलेको उनले प्रहरीलाई दिएको बयानमा स्वीकारेका छन् । विवादित नेता, व्यापारी तथा भ्रष्टाचारी कर्मचारीहरूबाट गैरकानुनी रुपमा फिरौती रकम माग गरी आर्थिक लाभ लिने उद्देश्यले सन् २०२५ अक्टोबर १ मा विश्व क्रान्ति दिवसको दिन यो संगठन खोलेको उनले प्रहरीलाई बताएका छन् ।
अधिकारीले पाठकलाई फिलिपिन्समै हुन्डीमार्फत दुई करोड रुपैयाँ पठाएको समेत खुलेको छ । अख्तियार प्रमुख राईलाई मार्ने उद्देश्य नभई अधिकारीले रकम दिने आश्वासन दिएकाले यो काम गरेको पाठकले बयानमा उल्लेख गरेका छन् । यसको षड्यन्त्र र योजना भने अधिकारीकै रहेको उनको बयान छ ।