काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ का अंशुकिरण शाही र उपभोक्ताको तर्फबाट नार्गाजुन नगरपालिका–५ का कृष्ण बसेललाई नियुक्त गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् । त्यस्तै नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०३०औँ बैठकले उक्त निर्णय गरेको हो । दीर्घायु कुमार श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आएका छन् । २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा उनी प्राधिकरणमा प्रवेश गरेका थिए । श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् । नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबार नै ऊर्जामन्त्री श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।