काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन दुई हजार ७५ नागरिकको विवरण संकलन गरेको छ ।
काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षणमा दुई हजार ७५ जनाको विवरण संकलन गर्दा १०८ जनालाई तत्काल अस्पताल लगेर उपचार गर्ने अवस्था भेटिएका महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दिपककुमार केसीले जानकारी दिए । यही वैशाख २३ गतेसम्ममा संकलित विवरण हेर्दा एक हजार ३७० महिला र ७०५ पुरुषको विवरण संकलन भएको छ । उनीहरूमध्ये एक हजार ९४६ जना हाल परिवारसँगै छन् । एक सय ८ जना सहयोगीबाट साथ लिएर एक्लो जीवन बिताइरहेका छन् भने आफन्त र नातेदारको आश्रयमा २१ ज्येष्ठ नागरिक छन् । ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षणका लागि महानगरपालिकाले २०८२ माघ १८ गतेदेखि सबै वडामा स्वास्थ्यकर्मीको टोली खटाएको छ । टोलीले ८४ वटा प्रश्नावलीको जवाफ, ज्येष्ठ नागरिकले बिताइरहेको जीवनस्तरको भौतिक र शारीरिक अवस्थाका आधारमा स्वास्थ्य सर्वेक्षण भइरहेको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दिपककुमार केसीले जानकारी दिए । नागरिकलाई आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहूँच वृद्धि गर्ने कार्यक्रमअन्तर्गत आगामी वर्षको स्वास्थ्य नीति, बजेट तथा कार्यक्रममा पृष्ठपोषण प्रदान गर्ने उद्देश्यले सर्वेक्षण गरिएको उनले बताए ।
सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकलाई हरियो, पहेँलो र रातो जोनमा वर्गीकरण गरिएको छ । हरियो जोन भनेको सुरक्षित अवस्था हो । यो जोनमा भएका ज्येष्ठ नागरिकलाई धेरै निगरानी र हेरचाह आवश्यक पर्दैन । यो जोनमा ९९५ जना रहेका छन् । पहेँलो जोनमा रहेका बिरामीलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्छ । यो जोनमा ९७२ ज्येष्ठ नागरिक छन् । उपचारका लागि तत्काल अस्पताल पठाउनु पर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रातो जोनमा राखिएको छ । यस्ता ज्येष्ठ नागरिकलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा रेफर गर्ने गरिएको छ । रातो जोनमा १०८ ज्येष्ठ नागरिक रहेको उनले बताए ।