काठमाडौं । काठमाडौं जिल्ला अदालतले बीमापोष्ट डटकम नामक अनलाइन सञ्चारमाध्यममा प्रकाशित एमएडब्लू इन्टरप्राइजेजका सञ्चालक तथा प्रबन्ध निर्देशक तथा सीएनआईका पूर्वअध्यक्ष विष्णु अग्रवालको भ्याट र कर छलीसम्बन्धी समाचार हटाउन अन्तरिम आदेश जारी गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोशलेश्वर ज्ञवालीको एकल इजलासले बीमापोष्ट डटकममा गत चैत्र २४ र २६ गते प्रकाशित दुई समाचारलाई हटाउन आदेश जारी गरेको थियो ।
प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतले आदेश जारी गरेको सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले बुधवार विज्ञप्ति जारी गर्दै संविधानको बर्खिलाप हुने गरी जारी आदेश पुनर्विचार गर्न आग्रह गरिएको छ ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १९ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी विश्वव्यापी मान्यताविपरीतको आदेशले प्रेस स्वतन्त्रता हनन भएको ठहर गरिएको छ । जिल्ला अदालतको आदेश सार्वजनिक भएसँगै आदेशले न्यायको सिद्धान्तको बर्खिलाप हुन पुगेको भन्दै सामाजिक सञ्जालमा समेत चर्को आलचोना भइरहेको छ ।
त्रिभुवन विश्व विद्यालय आम सञ्चार तथा पत्रकारिता विभाग उपप्राध्यापक तथा अधिवक्ता डा. शशी मरासिनीले संविधान प्रदत्त प्रेस स्वतन्त्रताको अधिकारलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै प्राकृतिक न्यायको सिद्धान्त सबैले ख्याल गर्न स्मरण गराएका छन् ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उम्मीद बागचन्दले समाचार हटाउने आदेशले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको तर्फ सबैको ध्यानाकर्षण गराए । समाचार प्रकाशित गर्ने बीमापोष्ट डटकमका सम्पादक नवराज न्यौपानेले कर छलीको प्रमाण नै नष्ट गर्ने आदेशका विरुद्धमा कानुनी लडाइँ लड्ने प्रतिबद्धता जनाएका छन् ।