काठमाडौं । यती एयरलायन्सले आफ्नो साधारण सेयर (आईपीओ) सर्वसाधारणमा निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्राथमिक सार्वजनिक निष्कासनका लागि एनआईएमबीएस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
यससम्बन्धी सम्झौतापत्रमा यती एयरलायन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य तथा निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । आन्तरिक हवाइ सेवा प्रदान गर्दै आएको यती एयरलायन्स नेपालका अग्रणी निजी हवाइ सेवा प्रदायक कम्पनीहरूमध्ये एक मानिन्छ । कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख सहरी तथा दुर्गम गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दै आएको जनाएको छ ।
कम्पनीले नेपालको हवाइ पहुँच विस्तार तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको पनि उल्लेख गरिएको छ । आईपीओ निष्कासनको तयारीसँगै कम्पनीले सर्वसाधारणलाई समेत स्वामित्वमा सहभागी गराउने योजना अघि बढाएको हो ।