काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको विद्युत् बिक्री आम्दानीसँगै नाफा पनि बढेको छ । कम्पनीले सार्वजानिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार चैत्र मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीको आम्दानी १७ प्रतिशतले बढेर एक अर्ब सात करोड ९७ लाख पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत् बिक्रीको आम्दानी ९२ करोड २७ लाख थियो । कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत् उत्पादन गरिरहेको छ । विद्युत् बिक्रीको आम्दानी बढेसँगै यस अवधिमा कम्पनीको खुद नाफा पनि बढेको छ । कम्पनीको खुद नाफा १३ दशमलव ४५ प्रतिशतले बढेर ५२ करोड ७६ लाख पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४६ करोड ५० लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीले बीमा दाबीको नौ लाख रुपैयाँ पनि प्राप्त गरेको छ । कम्पनीको सञ्चालन मुनाफा ३ दशमलव ८६ प्रतिशतले बढेर ६८ करोड ६३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको ब्याज आम्दानी २ करोड ९० लाख रहेको छ । कम्पनीको ब्याज खर्च १८ करोड १७ लाखबाट घटेर १६ करोड १५ लाख कायम भएको छ । कम्पनीको कर अगाडिको नाफा भने ५४ करोड २८ लाख रहेको छ । विद्युत् बिक्रीको आम्दानी बढेको तथा ब्याज खर्च घटेकोले कम्पनीको नाफा बढेको देखिन्छ ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी तीन अर्ब १२ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भमा एक अर्ब ३१ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६० करोड थियो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ बाट २० प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १६.८९ रुपैयाँ रहेको छ । २० प्रतिशतले पुँजी बढ्दा पनि कम्पनीले १६.८९ रुपैयाँको ईपीएस कायम गर्न सफल भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २४ पैसा रहेको छ । माउन्टेन इनर्जीको सहायक कम्पनीको रुपमा दुधखोला हाइड्रो पावर कम्पनी रहेको छ । यससँगै माउन्टेन इनर्जी होल्डिङ कम्पनीको रुपमा परिणत भएकोले कम्पनीले पहिलो पटक समग्र ग्रुप कम्पनी र माउन्टेन इनर्जीको छुट्टै वित्तीय विवरण सार्वजनिक गरेको छ । दुधखोला हाइड्रो पावर कम्पनीले मनाङमा ६५ मेगावाट क्षमताको दुधखोला जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ ।