तेहरान । इरानले यस क्षेत्रमा युद्ध अन्त्य गर्न र विदेशमा रोक्का गरिएको सम्पत्तिलाई फुकुवा गर्न आह्वान गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भने, ‘हामीले कुनै छुटको माग गरेका छैनौँ । हामीले इरानको वैधानिक अधिकारका लागि मात्र माग गरेका छौँ ।’
एएफपीका अनुसार उनले इरानको मागमा ‘यस क्षेत्रमा युद्ध अन्त्य गर्नुपर्ने, अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने’ र ‘वर्षौंदेखि विदेशी बैंकमा अन्यायपूर्वक फसेको इरानी जनताको सम्पत्ति रिहाइ’ समावेश रहेको बताए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावमाथि इरानले दिएको प्रतिक्रियालाई अस्वीकार गरेको बताएका छन् ।
बकाईले खाडीमा जारी तनावलाई औँल्याउँदै भने, ‘तेहरानले युरोपेली देशहरूलाई कसैलाई पनि फाइदा नहुने संकटमा संलग्न नहुन चेतावनी दिएको छ ।’ उनले स्ट्रेट अफ हर्मुजमा कुनै पनि प्रकारको हस्तक्षेपले स्थितिलाई थप जटिल बनाउने बताए । बेलायत र फ्रान्सले स्ट्रेट अफ हर्मुज सुरक्षित गर्न अन्तर्राष्ट्रिय गठबन्धन बनाउने प्रयासको नेतृत्व गरिरहेका छन्, तर यो अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि मात्र हुने बताइएको छ ।
शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रुबिओले रोमको दुई दिने भ्रमण सकिएपछि युरोपेलीहरूलाई प्रमुख जलमार्ग सुरक्षित गर्न मद्दत गर्न आग्रह गरेका थिए । सोमबार पत्रकारहरूसँगको कुराकानीका क्रममा बकाईले खाडीमा कथित तेल चुहावटको दावीलाई अस्वीकार गरेपछि भू–उपग्रह लिइएका तस्बिरहरूमा इरानको खार्ग टापुको तटमा तेलको थोपा फैलिएको देखिएको थियो ।