काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे पक्राउ प्रकरणमा बैंक तथा वित्तीय संस्थाका चारवटै संंघले प्रतिनिधिहरूले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् ।
बिहीबार वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर एससोसिएन, डेभलपमेन्ट बैंकर एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिनको माग गरेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मिति २०८३÷०१÷३०मा जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाण्डेलाई नियन्त्रणमा लिएको घटनाप्रति बैंकिङ क्षेत्रले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जारी प्रेस विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरू बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी नीति तथा निर्देशनको अधीनमा रही सर्वसाधारणबाट निक्षेप संकलन गरेर मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासमा योगदान पु¥याउँदै आएको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा ५७ ले बैंक तथा वित्तीय संस्थालाई कर्जा असुली नभएको अवस्थामा धितो लिलामसहित असुली प्रक्रिया अघि बढाउने विशेष अधिकार दिएको छ । यस्तो प्रक्रिया बैंकको नियमित कार्यक्षेत्रभित्र पर्ने र त्यसको कार्यान्वयन प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीअन्तर्गत पर्ने उल्लेख गरिएको छ ।
बैंकिङ क्षेत्रले कर्जा असुली प्रक्रियासँग सम्बन्धित विषयमा सीईओलाई पक्राउ गरिनुले बैंकको साख, स्थायित्व तथा सर्वसाधारणको विश्वासमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेको छ । विज्ञप्तिमा आम निक्षेपकर्ताको विश्वासमा सञ्चालन हुने बैंकजस्तो संस्थाको नेतृत्वमाथि गरिएको यस्तो कदमले समग्र बैंकिङ प्रणालीप्रति नै नकारात्मक सन्देश जान सक्ने उल्लेख छ ।
साथै, बैंकको प्रतिष्ठा र प्रमुख कार्यकारी अधिकृतजस्तो जिम्मेवार पदको गरिमालाई ध्यानमा राख्दै ‘सुन अनि थुन’को सिद्धान्तअनुसार आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने भए पनि पाण्डेलाई यथाशीघ्र थुनामुक्त राखेर अनुसन्धान अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।
सर्वोच्चको कारण देखाउ आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।
पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको हो । योसँगै सर्वोच्चले छलफलका लागि समेत दुवै पक्षलाई बोलाएको छ ।