काठमाडौं । नेपाली प्रहरीको केनद्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको नक्खुस्थित कार्यालयमा छापा मारेको छ । स्मार्ट टेलिकम प्रकरणमा सीआईबीले एनसेलसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।
एनसेलले छापा मारेको अस्वीकार गरे पनि महत्त्वपूर्ण सम्बन्धित कागजात सीआईबीलाई बुझाएको स्रोतले जानकारी दिएको छ । ललितपुरको नक्खुस्थित कार्यालयमा पुगेको टोलीले सचिनलाल श्रेष्ठ र भावना श्रेष्ठको बारेमा सोधखोज गरेको थियो ।
पछिल्लो समय स्मार्ट टेलिकमको दूरसञ्चार सामग्री खरिदमा अनियमितताको आशंका गरिएको छ । सोही प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरिएको थियो । सरकारी स्वामित्वमा गइसकेको स्मार्ट टेलिकमको दूरसञ्चार उपकरण सो बैंकले एनसेललाई बिक्री गरेको थियो ।
सीआईबीले अहिले यसैलाई मुख्य केन्द्र बनाएर अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा बिहीबार सीआईबीको टोली एनसेल कार्यालयमा छापा मार्न पुगेको हो । सीआईबी स्रोतका अनुसार स्मार्ट सेल बिक्रीबारे अनुसन्धान गर्न टोली नक्खु पुगेको हो । यता एनसेलले भने छापामारीबारे अनभिज्ञता व्यक्त गरे पनि सीआईबीले महत्त्वपूर्ण कागजात मागेको स्वीकारेको छ ।
एनसेलका एक अधिकारीका अनुसार एक जिम्मेवार कर्पोरेट संस्थाको रूपमा सदाझैँ कम्पनी सरकारी निकायहरूका काम कारबाहीमा आवश्यक सहयोग पुर्याउन पूर्ण रूपमा प्रतिबद्ध रहेको छ ।