काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले देशभरका जिल्ला प्रशासन कार्यालयअगाडि आधा घन्टा धर्ना दिएको छ ।
महामंघले बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको हो । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्रीहरू, ढुवानी तथा श्रमिक लागतमा पटक–पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिको समस्या समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि आन्दोलनमा उत्रिन परेमो महासंघले जनाएको छ । महासंघले तय गरेको पूर्वनिर्धारित शान्तिपूर्ण विरोधको कार्यक्रमअनुसार बिहीबार महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाई शान्तिपूर्ण तवरमा आधा घण्टा धर्ना दिएका हुन् । मूल्यवृद्धिका कारण अबउप्रान्त निर्माणकार्य बन्द हुने परिस्थितिका विषयमा अवगत गराउँदै ज्ञापनपत्र दिएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिए । यस्तै केन्द्रमा एसोसिएट सदस्य समन्वय समितिको तर्फबाट सडक विभाग र ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकहरूलाई ज्ञापनपत्र बुझाई ती विभागहरूमा आधा घन्टा धर्ना दिएको थियो । एसोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले महानिर्देशकद्वयलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्थाबारे अवगत गराएका थिए ।
महासंघका महासचिव घिमिरेका अनुसार जिल्ला संघहरूले शुक्रबार र आगामी सोमवार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, सहरी विकास तथा भवन र सिँचाइ कार्यालयहरूमा ज्ञापनपत्र बुझाई आधा घण्टा धर्ना दिनेछन् । विरोधकै कार्यक्रमअन्तर्गत सात प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रबार मुख्यमन्त्रीज्यूलाई ज्ञापनपत्र बुझाउँदै मुख्यमन्त्री कार्यालयमा आधा घन्टा धर्ना दिने महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता मंगलबहादुर शाहीले बताए ।