काठमाडौं, कुख्यात बिचौलिया दीपक भट्टसँग सेयर घोटालामा जोडिएका तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि संसदीय छानबिनको माग गर्दै आएका प्रतिपक्षी दलहरूको मागलाई लत्याएर सरकारले पूर्वन्यायाधीश अच्यूत प्रसाद भण्डारीको संयोजकत्वमा महालेखा नियन्त्रणका शोभाकान्त पौडेल र सहमहान्यायाधिवक्ता अच्यूतमणि न्यौपाने रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेपछि छानबिन नै विवादको घेराभित्र तानिएको छ ।
पूर्वगृहमन्त्री गुरुङमाथि संसदीय छानबिन गर्न सरकारले अस्वीकार गर्दै उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेसँगै उक्त समिति नै विवादको घेरामा तानिएको हो । छानबिनमा सदस्य तोकिएका न्यौपानेसँग पूर्वगृहमन्त्री गुरुङको पुरानो सम्बन्ध रहेको छ भने अर्का सदस्य पौडेल अडान नभएका प्रशासक मानिन्छन् ।
संसदीय छानबिन समिति गठन गरेको भए त्यसमा सांसदहरूको उपस्थिति हुन्थ्यो र विपक्षी दलहरूले त्यस्तै संसदीय छानबिन गर्न माग गरेका थिए तर गुरुङमाथि संसदीय छानबिन गर्न सरकार डरायो र विपक्षीहरूको मागलाई अस्वीकार गरेर छानबिन समिति गठन गरेको हो । पूर्वगृहमन्त्री गुरुङले कुख्यात भस्मासुर बिचौलिया दिपक भट्टले सेटिङमा दर्ता गराएको लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्समा २५ हजार कित्ता र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा २५ हजार कित्ता सेयर लिएका थिए । उनले गिफ्टमा लिएको उक्त सेयर खरिद गरेको भनी पछिल्लो समय कागजपत्र मिलाउने काम गरिएको छ । सेयर नामसारी गर्ने प्रयास असफल भएपछि भएका कागजलाई वैद्यानिक दिने काम गरिएको समाचार स्रोतको दाबी छ ।