काठमाडौँ । आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले विकासे मन्त्रालयका सचिवहरूलाई ज्ञापन पत्र बुझाएको छ । महासंघ अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र जलस्रोत सचिव सरिता दवाडी समक्ष ज्ञापन—पत्र पेश गर्दै मूल्यवृद्धिका कारण सबै आयोजनाको निर्माण कार्य स्वतः बन्द भइसकेको जानकारी गराएको छ ।
महासंघले मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्रीहरू, ढुवानी तथा श्रमिक लागतमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले निर्माण कार्य ठप्प भएको महासंघले जनाएको छ । निर्माण आयोजनाहरू पूर्व निर्धारित समयमै सकिने कुनै सम्भावना नभएकाले बैंक ग्यारेन्टी, इन्सुरेन्स तथा थप क्षतिपूर्तिसहित सबै आयोजनाहरूको आवश्यक म्याद थप र बजेट व्यवस्थापन हुनुपर्ने महासंघले माग राखेको छ । महासंघ अध्यक्ष पाण्डेले विभिन्न चुनौतीका बाबजुद निर्माण कार्यमा खटिँदै आएका निर्माण व्यवसायीहरूमाथि धरपकड भएको भन्दै ध्यानाकर्षण गराएका छन् । महासंघले तय गरेको विरोधकै कार्यक्रमअन्तर्गत प्रदेश निर्माण व्यवसायी महासंघहरूले मुख्यमन्त्रीहरू समक्ष ज्ञापन—पत्र बुझाउँदै मूल्य समायोजनको माग गरेका छन् । महासंघका महासचिव शिवहरि घिमिरेका अनुसार जिल्ला संघहरूले आज जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, सहरी विकास तथा भवन र सिंचाइ कार्यालयहरूमा निर्माण उद्योगको विद्यमान जटिल समस्या र समाधानको उपाय सहितको ज्ञापन—पत्र बुझाएका छन् । महासंघले आइतबारदेखि मुख्य राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकसहित विभिन्न समितिका सभापतिहरू समक्ष ज्ञापन—पत्र पेश गर्ने महासंघका प्रवक्ता एवं नीतिगत उपमहासचिव मंगलबहादुर शाहीले जानकारी दिए ।