काठमाडौं । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडको अगुवाइमा सहवित्तीयकरण व्यवस्थापन गरी सहवित्तीयकरण बैँकहरूले सात अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना आउने भएको छ । बुधबारको दिन प्रवर्द्धक कम्पनी दिव्यज्योती हाइड्रोपावर लिमिटेड एवं लगानीकर्ता बैँकहरूबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हो । उक्त परियोजना गण्डकी प्रदेश, लमजुङ जिल्ला, मस्र्याङ्दी गाँउपालिका र बेसीसहर नगरपालिकामा निर्माण हुनेछ ।
परियोजनाको अनुमानित लागत करीब ११ अर्ब ३० करोडमध्ये सहवित्तीयकरण बैंकहरूले ६७ः३३ को ऋण स्वपुँजी अनुपातमा सात अर्ब ५० करोड बराबरको ऋण लगानी गर्नेछन् भने ३३ प्रतिशत स्वपुँजी प्रवर्द्धकहरूबाट जुटाइने छ । आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्नपश्चात् उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको उदीपुर स्थित सबस्टेसनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ११२.०९९ गिगावाट घन्टा र वर्षायाममा २००.५०३ गिगावाट गरी वार्षिक ३१२.६०२ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।
सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाइ, सह अगुवाइ तथा अन्य बैंकहरूसँगको सह वित्तीयकरण कर्जामार्फत जलविद्युत् लगायत हरित ऊर्जा क्षेत्रमा उल्लेख्य रूपमा लगानी गर्दै आएको र बैंकिङ्ग क्षेत्र एवं स्वतन्त्रउर्जा उत्पादकहरूको संयुक्त लगानीबाट धेरै आयोजनाहरूको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको बताए । हालसम्म निर्माण सम्पन्न भएका २७४.४०१ मेगावाट क्षमताका १६ वटा जलविद्युत् आयोजना र निर्माणाधिन १,३३०.८२५ मेगावाट क्षमताका २६ वटा जलविद्युत् आयोजनासहित जम्मा १,६०५.२२६ मेगावाट क्षमताका ४२ वटा जलविद्युत् आयोजनामा यस बैंकको लगानी रहेको छ । सिटिजन्स बैंकले हालसम्म १८ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, ३ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, १७ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रूपमा र ४ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ । साथै बैंकले हाल कोशी प्रदेशमा ५२१.६६६ मेगावाट क्षमताका १४ वटा आयोजनाहरूमा, बगमती प्रदेशमा ३९३.८२५ मेगावाट क्षमताका १४ वटा आयोजनाहरूमा, गण्डकी प्रदेशमा ६१६.४६५ मेगावाट क्षमताका ९ वटा आयोजनाहरूमा, लुम्बीनी प्रदेशमा ५३.०२ मेगावाट क्षमताका २ वटा आयोजनाहरूमा र कर्णाली प्रदेश २०.२५ मेगावाट क्षमताका ३ वटा आयोजनाहरूमा लगानी गरेको गरेको छ । प्रवर्द्धक कम्पनी दिव्यज्योती हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष सतिस न्यौपानेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरूमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी सकिएकोले आयोजना तत्काल निर्माण सुरुगरी समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, एक सय ६९ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट २० लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।