काठमाडौं । भारतस्थित काउन्सिल फर इन्टिग्रेटिभ वैद्य इनोभेसन एन्ड कोलाबरेसन (सिभिक)ले ‘इन्टरनेसनल आयुष कन्क्लेभ’ आयोजना गर्ने भएको छ ।
नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा चौथो संस्करणको कन्क्लेभ आगामी जुन १२ देखि १४ सम्म काठमाडौंमा आयोजना हुन लागेको हो । संस्थाका प्रतिनिधि डा. एमएम कुरैशीका अनुसार कार्यक्रममा वैज्ञानिक सत्र, अनुसन्धानमा आधारित प्रस्तुति तथा अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदानलाई विशेष प्राथमिकता दिइनेछ । उनका अनुसार आयुष क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई आयुष लेजेस्डरी अवार्ड, आयुष एक्सिलेन्स अवार्ड, आयुष राईजिङ अवार्ड तथा आयुषईन्टरप्राईज अवार्ड प्रदान गरी सम्मान गरिनेछ । यसका साथै आयुष चिकित्सकहरूको एकै मञ्चमा सबैभन्दा ठूलो क्लिनिकल डायग्नोसिस सत्र सञ्चालन गरी ‘लेजेन्ड्स वर्ल्ड रेकर्ड’ कायम गर्ने प्रयास पनि गरिने जनाइएको छ । कन्क्लेभमा आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध, होमियोप्याथीलगायत विभिन्न आयुष प्रणालीलाई एउटै मञ्चमा ल्याइनेछ । सहभागीहरूले स्वास्थ्य अभ्यासमा कृत्रिम बुद्धिमत्ता (एआई) तथा आधुनिक प्रविधिको प्रयोगबारे समेत जानकारी प्राप्त गर्नेछन् ।
कार्यक्रम आयुष क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो । कन्क्लेभको मुख्य उद्देश्य आयुष प्रणालीलाई विश्वव्यापी मान्यता दिलाउनुका साथै चिकित्सकहरूलाई भविष्य उन्मुख प्रविधिसँग परिचित गराउनु रहेको आयोजकले जनाएको छ । नेपाल चेम्बर अफ कमर्सका ट्रेड फेयर समितिका सभापति राष्ट्रभूषण चाकुबजीका अनुसार भारतका २० भन्दा बढी राज्यसहित १० भन्दा बढी देशबाट २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । यसअघि यस्तै प्रकारको आयुष कन्क्लेभ भारतका आग्रा, गोवा र जयपुरमा सफलतापूर्वक सम्पन्न भइसकेको छ । नेपालमा भने आयुष कन्क्लेभ पहिलो पटक आयोजना हुन लागेको हो ।