काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रालिबाट उत्पादन हुने ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव स्वास्थ्यका लागि अनुपयुक्त रहेको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा उक्त आइसक्रिम गुणस्तरहीन भेटिएको जनाएको हो । प्रयोगशालामा गरिएको परीक्षणमा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट तथा इन्टेरोब्याक्टेरिएसी काउन्ट मापदण्डभन्दा धेरै फेला परेको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार यस्ता हानिकारक जीवाणुको अत्यधिक उपस्थितिले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।
पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रालिबाट उत्पादन गरिएको ब्याच नम्बर ‘सीओ२’ अन्तर्गतको १ हजार मिलिलिटर क्षमताको आइसक्रिम बजारबाट तुरुन्त फिर्ता गर्न विभागले आदेश दिएको छ ।
उक्त उत्पादनमा १९ साउन २०८२ उत्पादन मिति उल्लेख गरिएको छ भने यसको उपभोग अवधि १२ महिना तोकिएको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा २ र ४ बमोजिम सो ब्याचका आइसक्रिम बिक्री वितरण नगर्न तथा नगराउन सम्बन्धित उत्पादकलाई निर्देशन दिएको जनाएको छ ।साथै विभागले उपभोक्तालाई पनि स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै उक्त ब्याचको आइसक्रिम प्रयोग नगर्न आग्रह गरेको छ ।