काठमाडौं । अवैध डलर अपचलनमा पक्राउ पर्ने एक अभियुक्त उच्च तहको नेतृत्वसँग सेटिङ मिलाएर भाग्न सफल भएका छन् । यसअघि पनि पटक–पटक अवैध डलरसहित पक्राउ परेका सुभास श्रेष्ठलाई केही दिनअघि पक्राउ पर्नुअघि नै भगाइएको खुलेको हो ।
केही दिनअघि वाणिज्य विभागको टोलीले आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा छापा मारेको थियो । छापा मार्दा विमानस्थलभित्रका संवेदनशील क्षेत्रमा समेत सीसीटीभी जडान गरेर राखेको फेला परेपछि उनलाई पक्राउको लागि प्रहरी परिचालन गरिएको थियो । तर, पक्राउ पर्नुअघि नै उनलाई थाइल्याण्ड भगाइएको खुलेको छ ।
उनलाई सन् २०२६ अप्रिल २६ मा थाइ एयरवेजको फ्लाइट नम्बर टिजी ३१० मार्फत राति १२ बजेर २५ मिनेटमा भगाइएको हो । उनी ५ बजेर १० मिनेट जाँदा थाइल्याण्ड पुगेको स्रोतले बताएको छ । यसरी भगाएको अभियोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रहरी प्रमुख दानबहादुर कार्कीलाई हप्काएको बुझिएको छ । प्रधानमन्त्री बालेनका स्वकीय सचिव सुवास शर्मा र प्रमुख राजनीतिक सल्लाहकार कुमार वेनले आईजी कार्कीलाई मुखै छोडेर गाली गरेको बताइएको छ ।
एयरपोर्टका विवादास्पद व्यवसायी श्रेष्ठ छोटो समयमा धनी भएका मध्येका एक हुन् । उनले एयरपोर्टको पसललाई सम्पर्कस्थल बनाएर धन्दा नै चलाउँदै आएको बताइएको छ । पछिल्लो समय उनले विमानस्थलभरि सीसी क्यामरा राखेर आफ्नो पसलबाट सबैतिर सुराकी गर्ने र गोप्य सूचना बेच्ने गरेको पछिल्लो घटनाक्रमले देखाएको छ । सत्ताकै निर्देशनअनुसार उच्चस्तरीय सेटिङमा उनलाई विदेश भगाइए पनि कसले भगाएको भन्नेचाहिँ खुलाइएको छैन ।