सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहे पनि लगानीमा भने उपेक्षामा परेको सरोकारवालाहरूले बताएका छन् । सुदूरपश्चिममा लगानी भित्र्याउने जिम्मेवारी प्रदेश सरकारले लिएर लगानीको वातावरण बनाउनुपर्ने उनीहरूको भनाइ छ ।
धनगढीमा जारी ‘सुदूरपश्चिम कचहरी–२०८३’ मा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिम प्रदेशमा थुप्रै पर्यटन, कृषि, सम्पदालगायत क्षेत्रको प्रवद्र्धन गरी आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै पनि लगानीका लागि भने उपेक्षामा परेको बताए । उनका अनुसार एकदमै धेरै सम्भावना भएको क्षेत्र सुदूरपश्चिम हो । पर्यटन र जडीबुटीको क्षेत्रमा बढी सम्भावना रहेको उनले बताए । यहाँ सम्भावना देखेर नै चिसापानीमा अहिलेसम्मकै ठूलो केबुलकारसहितको आयोजना सञ्चालन गर्ने अन्तिम तयारी गरेको उनले जानकारी दिए ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारको नीति र प्रतिफल हेरेर निजी क्षेत्रको लगानी आउने बताए । सुदूरपश्चिममा सम्भावना धेरै छ । उनले भने, ‘सरकारीस्तरबाट लगानीकर्तालाई सुविधा दिन आवश्यक छ । सम्भावना देखाउन नसक्दा पनि लगानी भित्र्याउन समस्या भइरहेको हो ।’ प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमका सदस्य नृपबहादुर सुनारले पर्यटन, कृषि, सम्पदा, प्राकृतिक स्रोत सबै हिसाबले सम्भावना भएको क्षेत्रका रूपमा रहेको बताउँदै सम्भावनालाई नीति तथा कार्यक्रम र बजेटमा समेट्न आवश्यक रहेकामा जोड दिए ।