काठमाडौं । नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआईसी) ले सकारले हालै कार्यान्वयनमा ल्याएको अधिकतम खुद्रा मूल्य (एमआरपी)सम्बन्धी व्यवस्था सकारात्मक भएको बताएको छ ।
एमआरपी कार्यान्वयनलाई व्यवहारिक, सहज तथा व्यवसायमैत्री बनाउन आवश्यक रहेको महासंघको भनाइ छ । महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदवहालीपछि आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष खिमनारायण पराजुलीले बजार संरचना, साना तथा मझौला व्यवसायीहरूको अवस्था, उत्पादन तथा वितरण प्रणाली, भन्सार तथा कर प्रक्रियाका व्यावहारिक पक्षहरूलाई मध्यनजर गरी एमआरपी प्रणालीलाई चरणबद्ध रूपमा व्यवसायीमैत्री वातावरण बनाएर लागू गर्नुपर्नेमा जोड दिए । एमआरपी कार्यान्वयनलाई प्रभावकारी बनाउन उद्योगी, व्यवसायीसँग परामर्श र समन्वय, साना व्यवसायीका लागि सहजीकरण र अभिमुखिकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । महासंघले कर तथा बिलिङ प्रणालीलाई सरल र स्पष्ट बनाउने व्यवस्था, डिजिटल मूल्य प्रणाली तथा ‘क्यूआर–बारकोड’ प्रणालीको विकास, स्वादेशी उद्योग तथा उत्पादनलाई सहुलियत दिनुपर्ने लगायतका सुझावसमेत दिएको छ । साथै, एमआरपीसम्बन्धी नीति कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्या समाधान गर्न सरकार र नीजि क्षेत्र तथा उपभोक्ताबीच निरन्तर संवाद र सहकार्य हुनुपर्नेमा जोड दिएको छ ।
महासंघले व्यवसायीहरूमाथि राज्यले धरपकड गरेको भन्दै असन्तुष्टी जनाएको छ । ‘सरकारका सकारात्मक कामप्रति समर्थन र गलत कार्यप्रति हाम्रो खबर्दारी रहने छ, तर अनावश्यक व्यवसायीलाई आतंकित तुल्याउनु राम्रो विषय हैन’, अध्यक्ष पराजुलीले भने । बजार व्यवस्थापनको नाममा व्यवसायीलाई अनावश्यक दबाब सिर्जना हुने अवस्था आउन नदिन उनले सरकारसँग आग्रह गरे । गैरकानुनी रूपमा भएका गतिविधिमा नियन्त्रण गर्नु जायज भए पनि अनावश्यक रूपमा व्यवसायी तर्साउने कदमको महासंघले प्रतिवाद गर्ने उनको भनाइ छ ।
त्यसैगरी शैक्षिक परामर्श फर्ममा सरकारले छापा मारेको विषयमा पनि महासंघले धारणा सार्वजनिक गरेको छ । अध्यक्ष पराजुलीले अवैध रूपमा संचालनमा रहेका व्यवसायी फर्महरूलाई तत्काल कानुनी प्रक्रिया पूरा गर्न दबाब दिने नभए नियमानुसार कारबाही गर्नुको विकल्प नभएको बताए । पत्रकार सम्मेलनमा नवनिर्वाचित महासंघका महासचिव सूर्य थापा(बिक्रम)ले ‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ को नारा बोकेर स्थापना भएको महासंघले साना तथा मझौला उद्योगी–व्यवसायीहरूको हक, हित र अधिकारका पक्षमा निरन्तर रूपमा आवाज उठाउने बताए । महासंघको राष्ट्रिय अधिवेशनले पराजुलीको अध्यक्षतामा ९९ केन्द्रीय समिति निर्वाचित गरेको छ । जसमा ७ जनापछि थपिनेछन् ।