काठमाडौं । एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले नेपालको महालंगुर हिमशृंखलामा अवस्थित प्रसिद्ध हिमाल ‘मेरा पिक’ (६ हजार ४७६ मिटर) सफलतापूर्वक आरोहण गरेका छन् ।
उनको हिमाल यात्रा गत वैशाखदेखि भएको थियो । हिमाली बस्ती, दुर्गम पदमार्ग, हिमनदी र उच्च हिमाली भू–भाग पार गर्दैे वैशाख ११ मा विहान करिब ६ः४५ बजे उनी मेरा पिकको शिखरमा पुग्न सफल भएका थिए । एभरेस्ट क्षेत्रको महालंगुर हिमशृंखलामा पर्ने मेरा पिक विश्वका चर्चित ट्रेकिङ शिखरमध्ये एक मानिन्छ । यहाँबाट सगरमाथा, ल्होत्से, मकालु र छो ओयू हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक सौन्दर्य, साहसिक अनुभव र हिमाली संस्कृतिको अनुपम संगमका कारण मेरा पिक स्वदेशी तथा विदेशी आरोहीमाझ लोकप्रिय गन्तव्य बनेको छ ।
राजीव जैनले यो आरोहण अनुभवी पर्वतीय मार्गदर्शक तथा ‘लामा वाक्स’का राजेश लामाको नेतृत्वमा सम्पन्न गरेका छन् । हिमाली पदयात्रा तथा पर्वतारोहण क्षेत्रमा लामो अनुभव हासिल गरेका लामा नेपालका विभिन्न हिमाली रुटमा साहसिक अभियान सञ्चालन गर्दै आएका छन् । ५० वर्षका जैनले उच्च हिमाली क्षेत्रमा आवश्यक शारीरिक तथा मानसिक तयारी, अनुशासन र आत्मविश्वास भए कठिन आरोहण पनि सम्भव हुन्छ भन्ने सन्देश दिएका छन् ।