काठमाडौ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुनासो लिने र तत्काल समाधान गर्ने गरि हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाएको छ ।
ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेलगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ शैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन् । मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित ‘हटलाइन नम्बर’ ११५१ लाई थप प्रभावकारी बनाइएको हो । चौबिसै घण्टा सञ्चालनमा रहने उक्त हटलाइन अब केवल गुनासो टिप्ने माध्यममा सीमित छैन, बरु समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा विकास गरिएको मन्त्रालयले जनाएको छ । सेवाग्राहीका ‘फोन’, ‘ह्वाट्सएप’, ‘इमेल’देखि ‘हेलो’ सरकारसम्म आएका गुनासोलाई तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने प्रणालीलाई परिणाममुखी बनाइएको छ ।
मन्त्रालयका अनुसार गत चैत १५ गतेयता मात्रै हटलाइन र अन्य माध्यमबाट १० हजार ३९२ भन्दा बढी गुनासो प्राप्त भएका छन् । गत चैत १५ गते चैत ३० गतेसम्मको अवधिमा फोनमार्फत चार हजार २४८, ह्वाट्स एपबाट १४, इमेलबाट दुई तथा हेलो सरकारमार्फत पाँच वटा गुनासो प्राप्त भएका थिए । गत वैशाख महिनाभर फोनमार्फत छ हजार २६, ह्वाट्स एपबाट ९२ र इमेलबाट १० वटा उजुरी दर्ता भएका छन् ।