काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता सुरु भएको छ ।
सूर्य नेपाल प्रालिको प्रायोजनमा मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन दिनेश प्रजापति ६–अन्डर ६२ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन् । दिनेशले भुवन कुमार रोक्का र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई २ स्ट्रोकले पछि पारेका छन् । भुवन र स्वप्निलले ४–अन्डर ६४ को स्कोर बनाएका छन् । उनीहरूले संयुक्त रूपमा दोस्रो स्थान बाँडे । ३–अन्डर ६५ स्कोर बनाएका सञ्जय लामा र रामे मगरले संयुक्त रूपमा चौथो स्थान बाँडे । यस्तै भुवन नगरकोटी र शुक्र बहादुर राई २–अन्डर ६६ सहित संयुक्त रूपमा छैटौं स्थानमा छन् । यस्तै दीपक मगर, टंक बहादुर कार्की र एमेच्योर बलराम पौडेलले १–अन्डर ६७ सहित संयुक्त रूपमा आठौं स्थानमा रहे । एमेच्योरतर्फ स्वप्निल ४–अन्डर ६४ सहित बलराम पौडेललाई ३ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा छन् । १–अन्डर ६७ को स्कोरमा बलराम दोस्रो स्थानमा र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा इभन–पार ६८ सहित तेस्रो स्थानमा रहे ।
७२ होलको चार दिने प्रतियोगितामा कुल ५२ खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो राउन्डको समाप्तिमा कट लागू हुनेछ, जहाँ उत्कृष्ट १८ प्रोफेसनल खेलाडी तथा सोही कटमा रहने एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउनेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख १० हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९० हजार र ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो र पाँचौं हुने खेलाडीले ५५ हजार र ४६ हजार रुपैयाँ हात पार्नेछन् । साथै, उत्कृष्ट १८ मा पर्न सफल अन्य प्रोफेसनल खेलाडीले पुरस्कार प्राप्त गर्नेछन् ।