काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सम्मानित भएको छ । कम्पनीले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवाड्र्स २०२५’ अन्तर्गत ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर–नेपाल’ अवार्ड प्राप्त गरेको हो ।
इन्डियन च्याम्बर अफ कमर्स (आईसीसी)द्वारा थाइल्यान्डको बैंककमा आयोजित भव्य समारोहमा उक्त पुरस्कार घोषणा गरिएको हो । आयोजकबाट प्राप्त आधिकारिक ट्रफी तथा प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयमा विशेष समारोहबीच ग्रहण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो सम्मानले सिटिजन लाइफको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, आधुनिक डिजिटल प्रविधिको प्रयोग तथा जीवन बीमाको पहुँच आम नागरिकसम्म विस्तार गर्न खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले पुरस्कारप्रति खुसी व्यक्त गर्दै ग्राहक, अभिकर्ता र कर्मचारीप्रति आभार प्रकट गरे । ‘आज यो ट्रफी र प्रमाणपत्र कम्पनीमा प्राप्त हुँदा हामी अत्यन्त गौरवान्वित भएका छौँ,’ उनले भने । यो अन्तर्राष्ट्रिय सम्मान हाम्रा आदरणीय ग्राहक महानुभावहरूको अटुट विश्वास, अभिकर्ता साथीहरू तथा कर्मचारीहरूको कडा परिश्रमको प्रतिफल हो । उनले उक्त पुरस्कार सम्पूर्ण सिटिजन परिवार तथा शुभेच्छुकहरूलाई समर्पित गरिएको पनि बताए । कम्पनीले आगामी दिनमा पनि आफ्ना सेवा थप सुरक्षित, भरपर्दो, आधुनिक तथा प्रविधिमैत्री बनाउँदै नेपाली नागरिकको सुख–दुःखमा साथ दिने प्रतिबद्धता जनाएको छ ।