काठमाडौं । एनसेल फाउन्डेसनले १०० जना माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै फाउन्डेसनले यो वर्ष पनि एसईई उत्तीर्ण भएका विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको हो ।
एनसेल फाउन्डेसनले यसवर्ष १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षाका साथै अन्तरवार्ताका आधारमा विद्यार्थी छनोट गरी प्रदान गरिने जनाईएको छ । यसका अतिरिक्त विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्, जसले उनीहरूलाई अध्ययन, अवसर र आफ्ना आकांक्षाहरूसँग निरन्तर जोडिन सहयोग पुर्याउनेछ ।
यस्तै हन्ड्रेड ग्रुपद्वारा सञ्चालित छात्रवृत्ति कार्यक्रम प्रोजेक्ट शिक्षाले पनि थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । यो कार्यक्रम सन् २०१७ देखि सञ्चालनमा रहेको छ । गत वर्ष पनि यस कार्यक्रमअन्तर्गत एनसेल फाउन्डेसनले देशभरका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । ती विद्यार्थीहरू अहिले विभिन्न शैक्षिक संस्थाहरूमा कक्षा १२ मा अध्ययन गरिरहेका छन् ।