काठमाडौं । सुजुकी ई भिटरा नेपालमा सार्वजनिक गरिएको छ । साथै कम्पनीले ग्राहकहरूले बुकिङ गरेका ई भिटराको देशव्यापी डेलिभरी सेवा सुरु समेत गरेको छ । यो गाडी कम्पनीको नेपाली बजारमा भित्र्याइएको पहिलो पूर्ण निर्मित विद्युतीय गाडी हो । कम्पनीका अनुसार सुजुकीको अधिकृत डिलर सञ्जालमार्फत देशभरि ग्राहकलाई गाडी हस्तान्तरण गर्न थालिएको छ ।
नेपालमा सबैभन्दा लामो समयदेखि कार्यरत जापानी प्यासेन्जर गाडी ब्रान्ड सुजुकीले विद्युतीय खण्डमा औपचारिक प्रवेश गरेको हो । ई भिटरा नेपाली सडकको दैनिक यथार्थ र नेपाली ग्राहकको दीर्घकालीन अपेक्षालाई केन्द्रमा राखेर डिजाइन गरिएको उत्पादन हो । यसको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले सन् २०३० सम्ममा सुजुकीका थप छवटा विद्युतीय गाडी नेपाली बजारमा ल्याउने योजना सार्वजनिक गरेको छ । नेपाली विद्युतीय गाडी बजारमा नयाँ प्रवेश गरेका ब्रान्डहरूको तुलनामा ई भिटरा पहिलो दिनदेखि नै देशभर रहेका २५ अधिकृत सुजुकी सेल्स आउटलेट र ४० आफ्टर–सेल्स सर्भिस सेन्टरको पूर्ण समर्थनमा सञ्चालित रहेको कम्पनीको भनाई छ ।
कम्पनीका अनुसार ई भिटरा दुई ब्याट्री विकल्पमा उपलब्ध छ । यो गाडी सुजुकीको बिल्कुल नयाँ हेयरटेक ई विद्युतीय प्लेटफर्ममा निर्माण गरिएको छ । यसमा मोटर, इन्भर्टर र ट्रान्समिसनलाई एकीकृत गर्ने ३–इन–१ इलेक्ट्रिक पावरट्रेन प्रयोग गरिएको छ, जससँगै आधुनिक कल टु प्याक संरचनामा बनेको लिथियम–आयन ब्याट्री समावेश छ ।