स्पेनका युवा स्टार लामिन यामालले विश्वकप २०२६ अघि दिएको एक अन्तर्वार्तामा आफू स्पेनका लागि विश्वकप जित्ने सपना बोकेर मैदान उत्रिन लागेको बताएका छन् । केवल १८ वर्षको उमेरमै विश्व फुटबलमा सनसनी मच्चाइरहेका लामिन यामालले स्पेन अहिले विश्वकै उत्कृष्ट फुटबल खेलिरहेको दाबी गरेका छन् ।
स्पेन राष्ट्रिय फुटवल टिमका युवा विंगरले विश्वकप आफ्नो बाल्यकालदेखिको सबैभन्दा ठूलो सपना रहेको उल्लेख गर्दै भने, “विश्वकप त्यस्तो प्रतियोगिता हो, जुन फुटबल नहेर्ने मानिसले पनि हेर्छन् । आफ्नो देश खेल्दा पूरा देश एकजुट हुन्छ । अब म पनि त्यसको हिस्सा बन्नेछु भन्ने सोच्दा नै जिउ सिरिङ्ग हुन्छ ।”
फिफासँगको कुराकानीमा यामालले आफू दबाबभन्दा पनि खेलको आनन्दमा विश्वास गर्ने बताएका छन् । “मलाई फुटबल खेल्दा डर लाग्दैन, किनकि यही काम मैले जीवनभर गरेको हुँ । जब म मैदानमा आमाबुबालाई देख्छु र उनीहरू मप्रति गर्व गरिरहेका हुन्छन्, तब सबै दबाब हराउँछ,” उनले भने ।
हालै युरोपियन च्याम्पियन बनेको स्पेनलाई आगामी विश्वकपको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । तर यामाल भने “फेभरेट” भन्ने ट्यागले मैदानमा केही फरक नपार्ने बताउँछन् । उनका अनुसार अर्जेन्टिना, फ्रान्स, पोर्चुगल र इङ्ग्ल्यान्ड जस्ता बलिया टोलीहरू पनि उपाधिका प्रतिस्पर्धी हुन् ।
“विश्वकपमा सबै टोली आफ्नो उत्कृष्ट लयमा हुन्छन् । फेभरेट भएर गोल थपिँदैन । मैदानमा सबै कुरा प्रदर्शनले तय गर्छ,” उनले भने । त्यसका बाबजुद उनले आत्मविश्वासका साथ थपे, “मेरो विचारमा अहिले स्पेनले विश्वकै उत्कृष्ट फुटबल खेलिरहेको छ ।”
स्पेनको बलियो पक्षबारे बोल्दै उनले स्पेनिस फुटबल एकेडेमीहरूलाई विश्वकै उत्कृष्ट भने । “हाम्रो खेल शैली, प्रतिभा उत्पादन गर्ने प्रणाली र टोलीको समझदारी नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” यामालको भनाइ थियो ।
विश्व फुटबलमा उनको तुलना लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो,किलियन एम्बाप्पे र नेयमार जस्ता सुपरस्टारसँग हुन थालेको छ । तर यामाल आफू कसैको प्रतिलिपि बन्न नभई आफ्नै पहिचान बनाउन चाहने बताउँछन् ।
“म उनीहरूसँग तुलना हुन चाहन्नँ । म चाहन्छु, भविष्यमा ती महान खेलाडीहरूको नाम लिँदा मेरो नाम पनि सँगै उच्चारण होस्,” उनले भने ।
यामालले आफूलाई आलोचना गर्नेहरूलाई जवाफ दिनु नै सबैभन्दा ठूलो प्रेरणा भएको पनि बताए । “जब कम उमेरमै चर्चामा आउँछौ, मानिसहरू भन्छन् — धेरै सानो छ, एक सिजनपछि हराउँछ, ओभररेटेड छ । त्यसैले हरेक खेलमा आफूलाई प्रमाणित गर्नु मेरो लक्ष्य हो,” उनले बताए ।
उनले विश्वकपमा स्पेनका लागि गोल गर्ने बाल्यकालदेखिको सपना अझै जिउँदै रहेको बताए । टोलीका साथी न्बखष् को “स्पेनका लागि विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने” कीर्तिमान तोड्ने इच्छा पनि उनले व्यक्त गरे । रमाइलो शैलीमा उनले भने, “गाभीले मजाक गर्दै त्यो रेकर्ड मबाट जोगाउन खोजिरहेको छ । तर म केवल गोल मात्र होइन, विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा कम उमेरको स्पेनिस खेलाडी बन्न चाहन्छु ।”
अन्त्यमा उनले आफ्नो सबैभन्दा ठूलो सपना पनि खुलाए — “फाइनलको अन्तिम सिटी बज्छ, स्पेन विश्व च्याम्पियन बन्छ, अनि हामी ट्रफी लिएर समर्थकसँग उत्सव मनाउँदै स्वदेश फर्किन्छौं । त्यो मेरो जीवनकै सबैभन्दा विशेष क्षण हुनेछ ।”