बाजुरा, बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर बाजुरा र हुम्लाका स्थानीयबीच भएको झडप हिंसात्मक बनेको छ । घटनामा घाइते भएका ६ जनामध्ये ४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार झडपमा घाइते भएका पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङलाई घण्टौँपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो । उनीहरूको अवस्था जटिल भएपछि सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ ।
घटनामा प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा समेत घाइते भएका छन् ।
सीमा विवादले चर्कियो तनाव
हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमासँग जोडिएको बाजुराको लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण गर्न खोजिएपछि विवाद सुरु भएको हो । हुम्लाका स्थानीयले उक्त चौकी कवारीखोलाभन्दा वारिपट्टि अर्थात् आफ्नो क्षेत्रतर्फ निर्माण गर्न खोजिएको भन्दै विरोध जनाएका थिए ।
त्यही क्रममा ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, प्रमुख प्रशासकीय अधिकृतसहित करिब ४० जनाको टोली रानीसैनतर्फ जाँदै गर्दा झडप भएको बताइएको छ ।
ड्रोनमार्फत भिडियो खिच्ने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँबाट आएका करिब तीन सय स्थानीय आक्रोशित बनेपछि विवाद चर्किएको र त्यसपछि हातपात तथा कुटपिट भएको स्थानीय प्रशासनले जनाएको छ ।
“लाम्पाटा बाजुराकै भूभाग” — स्थानीय तहहरूको दाबी
घटनापछि बाजुराका चार स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दा गरेका छन् । विज्ञप्तिमा लाम्पाटा, च्याचौर, रानीसैन लगायत क्षेत्र नापी, लालपुर्जा र प्रशासनिक अभिलेखअनुसार बाजुरा जिल्लाभित्र पर्ने स्पष्ट उल्लेख गरिएको छ ।
स्थानीय तहहरूले सन २००१ मा नापी विभागले जारी गरेको नक्सा सिट नम्बर २९८१–०३ लाई आधार देखाउँदै साक्या लाग्नाभन्दा तल पर्ने जेखुङ्गखर्क, लेप्चेखर्क, मायोङ्खर्क, रानीखर्क, धौलीखर्क, च्याचौर र लाम्पाटा बाजुराको भूभाग भएको दाबी गरेका छन् ।
विज्ञप्तिमा हुम्लाका केही स्थानीयले “उपभोगको आधार” देखाएर भूभागमा दाबी गरिरहेको आरोप लगाउँदै स्थानीय नागरिकमाथि भएको आक्रमणलाई अमानवीय र निन्दनीय घटना भनिएको छ ।
दोषीमाथि कारबाहीको माग
स्थानीय तहहरूले घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । साथै सीमा विवादलाई तथ्य र प्रमाणका आधारमा समाधान गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार तथा प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराइएको छ ।
घटनापछि लाम्पाटा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने सीमा विवादले पुनः बाजुरा–हुम्ला सम्बन्धमा तनाव सिर्जना गरेको छ ।