नेपाली कांग्रेसले आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन तयारीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यसहित निर्वाचन ब्युरो विस्तार गरेको छ ।
पार्टीका सभापति गगन थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा रहेको निर्वाचन ब्युरोमा विभिन्न जिल्लाका नेताहरूलाई सदस्यमा मनोनयन गर्दै विस्तृत कार्यादेशसहित जिम्मेवारी दिएका हुन् ।
निर्वाचन ब्युरोमा जीवन परियार, अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुङ्गेल, दीपक महतो, हरि पोखरेल, सुदर्शन आचार्य, रोहित पौडेल, डा.भूमिराज चापागाईं, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेज बिनोद पौडेल, जगनाथ लामिछाने र मिलनराज बर्तौलालाई सदस्यमा मनोनयन गरिएको छ ।
कांग्रेसले निर्वाचन ब्युरोलाई देशव्यापी निर्वाचन तथ्याङ्क भण्डार निर्माण गर्ने, तथ्यमा आधारित वैज्ञानिक निर्वाचन रणनीति तयार गर्ने तथा उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउने जिम्मेवारी दिएको छ ।
७५३ स्थानीय तहसम्म सूचना सञ्जाल
कार्यादेशअनुसार निर्वाचन ब्युरोले देशभरका ७५३ स्थानीय तह, ६ हजार ७४३ वडा र ७ प्रदेशमा विस्तृत निर्वाचन योजना तयार गर्नेछ । साथै मतदाता मनोविज्ञान, मतदान प्रवृत्ति, मत परिवर्तन र जनभावनाको विश्लेषण गर्दै पार्टीको चुनावी रणनीति निर्माण गरिनेछ ।
ब्युरोअन्तर्गत सात सदस्यीय प्राविधिक समिति रहनेछ, जसमा तथ्याङ्क विश्लेषक, अनुसन्धानकर्ता, राजनीतिक रणनीतिकार तथा अभियान व्यवस्थापन विज्ञ रहने उल्लेख गरिएको छ ।
त्यसैगरी प्रदेशस्तरमा संयोजक, जिल्ला तथा स्थानीय तहमा सूचनादाता रहने संरचना निर्माण गरिने भएको छ । उनीहरूले नियमित रूपमा स्थानीय राजनीतिक अवस्था, जनमत, असन्तुष्टि, प्राथमिकता तथा चुनावी प्रभावसम्बन्धी सूचना संकलन गर्नेछन् ।
सामाजिक सञ्जालदेखि जनमत सर्वेक्षणसम्म
कांग्रेसले निर्वाचन तयारीलाई आधुनिक राजनीतिक अभियानमा रूपान्तरण गर्ने लक्ष्य राखेको जनाएको छ । यसअन्तर्गत सामाजिक सञ्जाल तथा विद्युतीय माध्यममार्फत जनमतको प्रवृत्ति विश्लेषण गरिनेछ भने देशव्यापी सर्वेक्षणमार्फत मतदाताको भावना, विश्वास स्तर र प्राथमिकता मापन गरिनेछ ।
प्रत्येक वडा, गाउँपालिका, नगरपालिका र प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन रणनीति बनाइने तथा नियमित प्रवृत्ति विश्लेषण र अद्यावधिक प्रतिवेदन तयार गरिने कार्यादेशमा उल्लेख छ ।
कांग्रेसको अपेक्षा : वैज्ञानिक उम्मेदवार र बलियो चुनावी रणनीति
पार्टीले यस अभियानबाट देशव्यापी निर्वाचन तथ्याङ्क भण्डार निर्माण, वैज्ञानिक उम्मेदवार छनोट प्रणाली, मतदाता भावना आधारित घोषणापत्र तथा प्रभावकारी चुनावी रणनीति तयार हुने अपेक्षा गरेको छ ।कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन, सूचना प्रणाली र चुनावी अभियानलाई नयाँ ढाँचामा लैजान खोजेको विश्लेषण गरिएको छ ।