काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले प्रादेशिक आर्थिक वृद्धिदर सबैभन्दा उच्च बागमतीको प्रदेशको हुने र सबैभन्दा कम मधेश प्रदेशको हुने जनाएको छ । बागमतीको प्रदेशको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आम्दानी राष्ट्रिय वृद्धिदरभन्दा माथि रहने कार्यालयले जनाएको हो ।
कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमानअनुसार स्थिर मूल्यमा मापन गरिएको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वार्षिक वृद्धिदरमध्ये सबैभन्दा उच्च वृद्धि बागमतीको पाँच दशमलव ४० प्रतिशत रहने अनुमान गरिएको छ । त्यसपछि क्रमशः गण्डकीको वृद्धिदर पाँच दशमलव शून्य एक प्रतिशत, सुदूरपश्चिमको तीन दशमलव ३८ प्रतिशत, कोशीको तीन दशमलव ३१ प्रतिशत, कर्णालीको दुई दशमल ९४ प्रतिशत, लुम्बिनीको दुई दशमलव ८७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
सबैभन्दा न्यून वार्षिक वृद्धिदर मधेशको एक दशमलव ३१ प्रतिशत मात्र रहने प्रारम्भिक अनुमान गरिएको छ । स्थिर मूल्यमा मापन गरिएको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वार्षिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशत रहने अनुमान गरिएको छ । यस आधारमा बागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने देखिन्छ भने अन्य सबै प्रदेशहरूको वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने प्रारम्भिक अनुमान गरिएको छ ।
त्यस्तै बुधबार कार्यालयले जारी गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुमान प्रतिवदेनअनुरूप स्थिर मूल्यमा मापन गरिएको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशत रहने अनुमान गरिएको छ । यस सन्दर्भमा बागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा उच्च रहने देखिन्छ भने अन्य सबै प्रदेशहरूको वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा बढी बागमतीको तथा सबैभन्दा कम मधेशको रहने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा हेर्दा बागमतीको दुई हजार छ सय ४४ डलर रहने अनुमान गरिएको छ । त्यसपछि गण्डकीको एक हजार छ सय ५१ डलर, कोशीको एक हजार चार सय १० डलर, लुम्बिनी प्रदेशको एक हजार दुई सय आठ डलर, सुदूरपश्चिमको एक हजार एक सय ७० डलर, कर्णालीको एक हजार एकसय आठ डलर तथा मधेशको नौ सय ३४ डलर रहने अनुमान गरिएको छ । राष्ट्रिय स्तरमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार पाँच सय १३ अमेरिकी डलर रहने अनुमान गरिएको छ । यस आधारमा बागमती र गण्डकी प्रदेशबाहेक अन्य सबै प्रदेशहरूको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम रहेको देखिन्छ ।
प्रादेशिक कुल मूल्य अभिवृद्धि तथा वृद्धिदर
कार्यालयका अनुसार औद्योगिक वर्गीकरणअनुसार आर्थिक गतिविधिको संरचना हेर्दा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी रहेको देखिन्छ । बागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा उच्च रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय स्तरमा दोस्रो ठूलो हिस्सा ओगटेको व्यापार क्षेत्रले कोशी र मधेश प्रदेशमा पनि दोस्रो स्थान ओगटेको देखिन्छ । त्यसैगरी, बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ । गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शिक्षा क्षेत्र दोस्रो ठूलो योगदानकर्ता रहेको छ ।
प्रदेशगत रूपमा न्यून योगदान भएका क्षेत्रहरू हेर्दा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान सबैभन्दा कम रहेको छ भने मधेश, बागमती र कर्णाली प्रदेशमा खानी तथा उत्खनन क्षेत्रको योगदान न्यून देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको कृषि क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रबाहेक अधिकांश क्षेत्रहरूको वृद्धिदर धनात्मक रहने अनुमान गरिएको छ ।
राष्ट्रिय स्तरमा कुल मूल्य अभिवृद्धिको सबैभन्दा उच्च वार्षिक वृद्धिदर विद्युत तथा ग्यास क्षेत्रमा २०.९३ प्रतिशत रहने अनुमान गरिएको छ । यही क्षेत्रको वृद्धिदर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि सबैभन्दा उच्च रहने अनुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने वित्तीय तथा बीमा सेवाको वृद्धिदर सबैभन्दा उच्च रहने अनुमान गरिएको छ ।
त्यसैगरी, कोशी प्रदेशमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापन क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून रहने अनुमान गरिएको छ भने बागमती, गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर सबैभन्दा कम रहने अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र तथा मधेश प्रदेशमा कृषि क्षेत्रको वृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको छ ।
कोशी
आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा १० खर्ब ४३ अर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यो नौ खर्ब ८२ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको थियो । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान दुवै वर्ष १५.८ प्रतिशत रहने अनुमान गरिएको छ ।
स्थिर मूल्यमा मापन गरिएको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८२/८३ मा तीन दशमलव १३ प्रतिशत रहने अनुमान गरिएको छ भने अघिल्लो वर्ष २.७२ प्रतिशत रहेको थियो । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी ३२.५ प्रतिशत रहने अनुमान गरिएको छ भने प्रशासनिक तथा सहयोगी सेवाको योगदान सबैभन्दा कम शून्य दशमलव तीन प्रतिशत रहनेछ ।
औद्योगिक वर्गीकरणअनुसार विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर २३.७६ प्रतिशत रहने अनुमान गरिएको छ, जुन सबैभन्दा उच्च हो । पानी आपूर्ति तथा फोहोर व्यवस्थापन क्षेत्रको वृद्धिदर शून्य दशमलव ३९ प्रतिशत रहने अनुमान गरिएको छ, जुन सबैभन्दा न्यून हो ।
मधेश
आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन आठ खर्ब ६३ अर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यो आठ खर्ब १८ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको थियो । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा मधेश प्रदेशको योगदान १३. एक प्रतिशत रहने अनुमान छ ।
यस प्रदेशको आर्थिक वृद्धिदर एक दशमलव ३१ प्रतिशत रहने अनुमान गरिएको छ, जुन सबै प्रदेशमध्ये न्यून हो । अघिल्लो वर्ष भने यसको वृद्धिदर चार दशमलव ४३ प्रतिशत रहेको थियो । कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान ३४ दशमलव ९७ प्रतिशत रहने अनुमान गरिएको छ भने खानी तथा उत्खनन क्षेत्रको योगदान शून्य दशमलव १४ प्रतिशत मात्र रहने अनुमान छ ।
औद्योगिक वर्गीकरणअनुसार विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर १० दशमलव ९१ प्रतिशत रहने अनुमान गरिएको छ भने कृषि क्षेत्रको वृद्धिदर एक दशमलव २६ प्रतिशत रहने अनुमान गरिएको छ ।
बागमती
आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन २४ खर्ब २३ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ । अघिल्लो वर्ष यो २२ खर्ब ५७ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको थियो । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान ३६ दशमलव सात प्रतिशत रहने अनुमान गरिएको छ ।
यस प्रदेशको आर्थिक वृद्धिदर पाँच दशमलव ४० प्रतिशत रहने अनुमान गरिएको छ, जुन सबैभन्दा उच्च हो । अघिल्लो वर्ष यसको वृद्धिदर पाँच दशमलव २९ प्रतिशत रहेको थियो । कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान २१ दशमलव सात प्रतिशत रहने अनुमान गरिएको छ भने पानी आपूर्ति तथा फोहोर व्यवस्थापन क्षेत्रको योगदान शून्य दशमलव तीन प्रतिशत मात्र रहने अनुमान छ ।
विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर २२ दशमलव ८८ प्रतिशत रहने अनुमान गरिएको छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर शून्य दशमलव ६१ प्रतिशत रहने अनुमान गरिएको छ ।
गण्डकी
आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन पाँच खर्ब ९२ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान नौ प्रतिशत रहने अनुमान गरिएको छ ।
यस प्रदेशको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ, जुन दोस्रो उच्च वृद्धिदर हो । कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान २५ दशमलव सात प्रतिशत रहने अनुमान गरिएको छ भने प्रशासनिक तथा सहयोगी सेवाको योगदान शून्य दशमलव तीन प्रतिशत रहने अनुमान गरिएको छ ।
विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर २३ दशमलव नौ प्रतिशत रहने अनुमान गरिएको छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर शून्य दशमलव ६५ प्रतिशत रहने अनुमान गरिएको छ ।
लुम्बिनी
आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन नौ खर्ब ३६ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ । राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान १४ दशमल दुई प्रतिशत रहने अनुमान गरिएको छ ।
यस प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव ८७ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान २९ दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ भने प्रशासनिक तथा सहयोगी सेवाको योगदान शून्य दशमलव चार प्रतिशत रहने अनुमान गरिएको छ ।
विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर नौ दशमलव १८ प्रतिशत रहने अनुमान गरिएको छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर शून्य दशमलव १९ प्रतिशत रहने अनुमान गरिएको छ ।
कर्णाली
आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन दुई खर्ब ७७ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान चार दशमलव दुई प्रतिशत रहने अनुमान गरिएको छ ।
यस प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव ९४ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान ३१ दशमलव ५२ प्रतिशत रहने अनुमान गरिएको छ भने खानी तथा उत्खनन क्षेत्रको योगदान शून्य दशमलव १५ प्रतिशत मात्र रहने अनुमान गरिएको छ ।
वित्तीय तथा बीमा सेवाको वृद्धिदर छ दशमलव ५४ प्रतिशत रहने अनुमान गरिएको छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर शून्य दशमलव शून्य पाँच प्रतिशत रहने अनुमान गरिएको छ ।
सुदूरपश्चिम
आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन चार खर्ब ६३ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान सात प्रतिशत रहने अनुमान गरिएको छ ।
यस प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव २८ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान ३३ दशमलव चार प्रतिशत रहने अनुमान गरिएको छ भने प्रशासनिक तथा सहयोगी सेवाको योगदान शून्य दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ ।
वित्तीय तथा बीमा सेवाको वृद्धिदर सात दशमलव ९८ प्रतिशत रहने अनुमान गरिएको छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर शून्य दशमलव १८ प्रतिशत रहने अनुमान गरिएको छ ।
अर्थतन्त्रको आकारमा प्रादेशिक योगदान कति ?
आर्थिक वर्ष २०८२/८३ मा उपभोक्ताको मूल्यमा आधारित राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । यसमध्ये सबैभन्दा ठूलो योगदान बागमती प्रदेशको रहने अनुमान गरिएको छ । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २४ खर्ब २३ अर्ब रुपैयाँ अर्थात् राष्ट्रिय अर्थतन्त्रको ३६ दशमलव सात प्रतिशत रहने अनुमान छ ।
त्यसैगरी, कोशी प्रदेशको योगदान १० खर्ब ४३ अर्ब रुपैयाँ (१५.८ प्रतिशत), लुम्बिनी प्रदेशको नौ खर्ब ३७ अर्ब रुपैयाँ (१४.२ प्रतिशत) तथा मधेश प्रदेशको आठ खर्ब ६३ अर्ब रुपैयाँ (१३.१ प्रतिशत) रहने प्रारम्भिक अनुमान गरिएको छ ।
गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन पाँच खर्ब ९३ अर्ब रुपैयाँ (९.० प्रतिशत), सुदूरपश्चिम प्रदेशको चार खर्ब ६४ अर्ब रुपैयाँ (७.० प्रतिशत) तथा कर्णाली प्रदेशको दुई खर्ब ७७ अर्ब रुपैयाँ (४.२ प्रतिशत) रहने अनुमान गरिएको छ । जीडीपी अनुसार भने राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको प्रमुख योगदान रहेको देखाउँछ भने कर्णाली प्रदेशको योगदान सबैभन्दा न्यून रहेको संकेत गर्दछ ।