विराटनगर । विराटनगरबाट जुवाजन्य अवैध फट्का (सट्टेबाज) को खेलमा दैनिक करोडौँको कारोबार हुने गरेको पाइएको छ । विशेषगरी भारतमा इन्डियन प्रिमियम लिग (आईपीएल) सुरु भएसँगै विराटनगरमा अवैध जुवाजन्य फट्का खेलले तिव्रता पाएको हो । विराटनगरमा प्रिमियम लिगको नामले दैनिक करोडौंको खेल हुने गरेको छ ।
स्रोतका अनुसार लामो समयदेखि सट्टेबाजको धन्दा चलाउँदै आएका विराटनगरका व्यापारी समुदायका केही युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले केहीलाई पक्राउ गरी राखेपछि विराटनगरबाट हुने आईपीएलको नयाँ धन्धाका रहस्य खुल्न पुगेको हो ।
विराटनगरमा रहेका उद्योगी तथा व्यापारी समूहका युवा समूहमा निकै लोकप्रिय बन्न पुगेको फट्काको सौदामा विराटनगर बजारबाट मात्रै दैनिक एक करोडभन्दा माथिको कारोबार हुने गरेको दाबी स्रोतले गरेको छ । सट्टेवाजहरूले दिनभरी क्रिकेटको हुने खेलका आधारमा स्थानीय व्यापारीसँग मोलतोल गर्ने र पैसा उठाउने काम गर्ने गरेका छन् । विगतमा पनि तत्कालीन मोरङ प्रहरी प्रमुख प्रद्युम्न कार्की बहाल रहेका बेला फट्काका नामुद खेलाडीलाई उनीहरूले प्रयोग गर्ने उपकरणसहित पक्राउ गरेर मुद्दा चलाएपछि केही मथ्थर भएको थियो । पछिल्लो समय फेरि यसले उग्ररुप लिन पुगेको छ ।
फट्काका बुकिहरूले करोडौंको दाउ चलाउँदा त्यसको असर धेरै यहाँका व्यापारिक समुदायका युवामा परेको छ । सन्तान दैनिक कुलतमा फसेपछि हैरान भएका व्यापारीको उजुरीलाई आधार मान्दै मोरङ प्रहरीले तिन जना बुकी चलाउने फड्काका खेलाडीलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । नेपाल प्रहरीका घुमुवाहरूलाई समेत प्रभावमा पारेर नेपालमा फट्काको बुकी चलाउँनेहरूले राम्रो आर्जन गर्ने गरेका छन् । प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेपछि अब कारबाही प्रक्रिया अगाडी बढ्छ वा बढ्दैन भन्नेमा पनि चासो देखिएको छ ।
अवैध जुवाजन्य फट्का चलाउन भारतसम्म सञ्जाल विस्तार भएको छ । नेपालबाट बुकीको काम गर्नेहरूले भारतको बिकानेर र जयपुरबाट दैनिक फट्काको भाउ बुझ्ने काम गर्ने गरेको स्रोतले बताएको छ । त्यहाँबाट भाउ तोकिएपछि नेपालमा रहेका बुकीहरूले फट्काको दाउमा सट्टा लिने गरेको कुरा थाहा भएको छ । विराटनगरको विभिन्न ठाउँमा बसेर बुकीको काम गर्दै जुवा र फाट्का चलाउनेमा नाम कहलिएका व्यक्तिहरू नै रहेका छन् । प्रहरीस्रोतका अनुसार अवैध हुने फाट्कामा संलग्नको पहिचान गर्न समस्या भएपछि यसको धन्दामा वृद्धि हुँदै गएको छ । तत्काल प्रमाण फेला पार्न नसकीने फाट्का चलाउने अधिकांश व्यापारी समुदायका युवाहरू रहेका छन् । उनीहरूले निक्कै व्यवस्थित सूचना प्रणाली अपनाएर बुकी सञ्चालन गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ गरेकालाई समेत मौजुदा जुवा कानुन अनुसार मात्र कारबाही चलाउने व्यवस्था छ । कडा कानुन नहुँदा प्रहरीको कारवाहीलाई खासै उनीहरूले वास्ता नगर्ने प्रहरीस्रोतले बताएको छ ।