काठमाडौं । काठमाडौँ मेडिकल कलेज र नेपाल सहकारी पत्रकार समाजबीच स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नेपाल सहकारी पत्रकार समाज (सीजेएन)बीच उक्त सम्झौता भएको हो । सम्झौताअनुसार सीजेएनमा आबद्ध सञ्चारकर्मी तथा उनीहरूका परिवारले अस्पतालमा उपचार गर्दा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट २५ प्रतिशत छुट सुविधा पाउने भएका छन् । साथै, २०८३ असार ३० गतेसम्मका लागि अस्पतालले विशेष व्यवस्था गर्दै ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएको छ । सम्झौताअनुसार सामान्य बेड शुल्कमा २५ प्रतिशत तथा क्याबिन सेवामा १० प्रतिशत छुट प्रदान गरिने छ । यसैगरी आईसीयू, एचडीयू, सीसीयू, ओटी सेवा शुल्क, ल्याब परीक्षण, सिटी स्क्यान, एमआरआई, एक्स–रे, यूएसजी, डेन्टल एक्स–रे, ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी, विभिन्न निदानात्मक परीक्षण तथा फिजियोथेरापी सेवामा पनि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
डेन्टल उपचारअन्तर्गत स्केलिङ, आरसीटी, फिलिङ तथा प्रोस्थेसिस सेवामा समेत २५ प्रतिशत छुट उपलब्ध गराइने अस्पतालले जनाएको छ । साथै, ईआरसीपी, एमआरसीपी, एन्जियोग्राम, एन्जियोप्लास्टी तथा न्यूरो इन्टरभेन्सन सेवामा पनि २५ प्रतिशत छुट प्रदान गरिने उल्लेख छ । यद्यपि क्याथ ल्याब सामग्री, स्टेन्ट, गाइड वायर, बेलुनलगायत उपभोग्य सामग्री तथा प्रत्यारोपण सेवामा भने कुनै छुट नहुने सम्झौतामा उल्लेख गरिएको छ । सेवा लिनका लागि बिरामीले आफ्नो परिचयपत्र, नागरिकता वा आवश्यक कागजात अस्पतालमा पेश गर्नुपर्ने छ । १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक, ज्येष्ठ नागरिक तथा औषधि उपचार कोषअन्तर्गतका सेवाहरू पूर्ण रूपमा उपयोग गरिसकेपछि मात्र सम्झौताअनुसारको थप सुविधा प्रदान गरिने जनाएको छ । यसैगरी सामाजिक सुरक्षा कोष तथा स्वास्थ्य बीमामा आबद्ध कर्मचारी तथा बिरामीहरूको सुविधाका लागि अस्पतालले छुट्टै काउन्टरको व्यवस्था गरेको जनाएको छ । सम्बन्धित सेवाबाट लाभ लिनका लागि सामाजिक सुरक्षा वा स्वास्थ्य बीमासम्बन्धी परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने छ ।