हिन्द महासागरको पश्चिममा अवस्थित सेसेल्स एक टापु देश (द्वीप/द्वीप समूहको मिलन भएको) रहेको देश हो । जुन देश ११५ वटा स–साना द्वीप समूह मिलेर बनेको छ भने, यो देशको प्रमुख आय स्रोत बाह्य पर्यटन हो । सोही कारण अफ्रिकी महादेशमा रहेका देशमध्ये धनी देश मान्ने गरिन्छ सेसेल्सलाई । हुन पनि तथ्यांक हेर्दा सेसेल्समा आउने पर्यटकबाट हुने आम्दानीको जीडीपीमा योगदान कम्तिमा पनि २७–२९ प्रतिशतदेखि ४०–४४ प्रतिशतसम्म रहने गरेको छ । उता विदेशी मुद्रा आर्जनमा त ७० प्रतिशतसम्म योगदान पर्यटनबाट रहने गरेको छ, वार्षिक रुपमा । सेसेल्समा वार्षिक ३ लाख ५५–६० हजारदेखि ४ लाखसम्म विदेशी पर्यटकले भ्रमण गर्ने गरेका छन् । पछिल्लो समय सेसेल्स भ्रमण गर्न जाने भारतीय पर्यटकको संख्या ७० प्रतिशतले बढेको समाचार आएको छ । ‘द इकोनोमिक्स टाइम्स’को ट्राभल एन्ड टुरिज्मसम्बन्धी समाचारमा जनाइएअनुसार सन् २०२५ मा सेसेल्स भ्रमण गर्न जाने भारतीय पर्यटकको संख्या ७५ प्रतिशतले बढेको थियो ।
यता हाम्रा देश नेपालमा आउने छिमेकी देश भारतका पर्यटकको तथ्यांक हेर्दा नेपालमा आउने विदेशी पर्यटकमा भारतीय पर्यटक लगभग ३० वर्षदेखि पहिलो स्थानमा रहने गरेको छ भने, वार्षिक रुपमा भारतीय पर्यटकको योगदान सम्पूर्ण पर्यटक संख्यामा ३५–३७ प्रतिशतदेखि २५–२७ प्रतिशतसम्म रहने गरेको छ । हालसम्म भारतीय पर्यटकको आर्थिक योगादान कति छ ? सो सम्बन्धमा चाहिँ सायदै कसैले (संस्था वा व्यक्तिले) अध्ययन गरेका होलान् ? कसैले गरेकै भए पनि यो पङ्तिकारलाई हालसम्म थाहा भएन । नेपाल भ्रमण गर्न आउने भारतीय पर्यटकको तथ्यांक हेर्दा सन् २०२४ देखि केही कम हुँदै गएको देखिन्छ । सन् २०२३ मा ३१९,९२६ जना भारतीय पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । साथै सन् २०२४ मा भने केही कम अर्थात् ३१७,७७२ जना भारतीय पर्यटक नेपाल भ्रमणमा आएका थिए । यो संख्या भनेको, सन् २०२३ को तुलनामा ०.८ प्रतिशतले कम रहेको थियो । तर सन् २०२५ मा चाहिँ केही बढी नै संख्यामा घटेर २९२,४३८ जना भारती पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । यो संख्या भनेको सन् २०२४ को तुलनामा ८ प्रतिशतले कमी हो ।
जे हो वार्षिक रपमा नेपाल भ्रमण गर्न आउने भारतीय पर्यटकको संख्या पछिल्ला वर्षहरुमा केही घट्दै गएको भए पनि सन् २०२६ को ४ महिनामा पनि विगतका वर्ष र महिनामा झैं भारतीय पर्यटक नै बढी आइरहेका छन्, नेपाल भ्रमण गर्न । तर माथि नै प्रस्तुत गरिएको, उल्लेख गरिएको देश सेसेल्समा मा समुन्द्र र सामुन्द्रिक टापुमात्रै भएको देश भ्रमण जाने भारतीय पर्यटकको संख्या सन् २०२५ मा ७५ प्रतिशतले बढ्दा नेपाल जस्तो जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, वेषभुषाको विविधता, हिमाल, पहाड, दुन/उपत्यका/टार, मधेस, खोलानाला, ताल–तलैया, छहरा–छाँगा, मठ–मन्दिर, गुम्बा, छोर्तेन, रीदूम खीम, माङ हिम, मस्जिद, चर्च, पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, जानकी मन्दिर, दामोदरकुण्ड, गोसाइँकुण्डलगायत अनेकौं प्राकृतिक छटाले भरिएको र सांस्कृतिक सङ्गस्थलमा भारतीय पर्यटकको संख्या बढ्दै जानुको सट्टामा घटदै गएको छ ? समय छँदै हामीले गम्भीर भएर सोच्नुपर्ने बेला आइसकेको छ है ! पटक–पटक भनियो, लामो समयदेखिको तथ्य–तथ्यांक हेर्दा भारतीय नागरिक वर्षेनी धेरै संख्यामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकका रुपमा दरिने गरेका छन् ।
फेरि पनि दोहोर्याएर भन्नु पर्दाखेरि अहिलेसम्म भारतीय पर्यटकलाई अरु देशका पर्यटकले संख्यात्मक हिसाबले जीत्न सकेका छैनन्, संभवतः अरु केही वर्ष (एक दशक) सम्म नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको पहिलो नम्बरमा भारतीय नागरिकहरु नै रहने छन् । किनभने, उनीहरुलाई नेपाल भ्रमण गर्न भिसा शुल्क पनि लाग्दैन । अर्को भनेको भारतीय पर्यटको कुरो गर्नु पर्दाखेरि आफ्नो भूगोलको आधा भाग एसिया महादेश र आधा भूगोल भाग युरोप महादेशमा पर्ने भए पनि आफूलाई आधिकारिक रुपमा युरोप महादेशको देश मान्ने–ठान्ने ‘तुर्किए/टुर्किए’ (टर्की पुरानो नाम) मा भ्रमण गर्ने भारतीय पर्यटकको संख्या पनि सन् २०२४ मा बीस दशमलब सात (२०.७) प्रतिशतले बढेको देखिएको थियो । साथै एसिया महादेशको सानो देश सिंंगापुरमा पनि सन् २०२४ मा विदेशी पर्यटक आगमनको संख्यामा भारतीय पर्यटकको संख्या तेस्रो धेरै संख्या बन्न पुगेको थियो । ‘इकोनोमिक्स टाइम्स’ले प्रकाशित गर्ने ‘ट्राभल वर्ल्डस’ र ‘सिंगापुर टुरिज्म बोर्ड (एसटीबी)’ ले जनाएअनुसार सिंंगापुरमा सन् २०२४ मा भ्रमण गर्ने भारतीय पर्यटकको संख्या १२ लाख रहेको थियो ।
तर नेपाल भ्रमण गर्न आउने भारतीय पर्यटकको संख्या चाहिँ सन् २०२३ को तुलनामा सन् २०२४ मा शून्य दशमलब सात (०.८) प्रतिशतले घटेको थियो भन्ने प्रसङ्ग माथि उल्लेख भइसकेको छ । स्मरणीय छ, सन् २०२३ मा तीन लाख १९ हजार ९३६ जना भारतीय पर्यटकहरु नेपाल भ्रमण गर्न आएका थिए भने, सन् २०२४ मा तीन लाख १७ हजार ७७२ जना भारतीय पर्यटकमात्रै नेपाल भ्रमण गर्न आएका थिए । त्यसो त सन् २०२४ मा (२०८१ साल भदौ–असोजतिर) भारतीय पर्यटक बोकेको बस दुर्घटना नभएको भए अनि बाढी–पहिरोका कारण सडक यातायात (बाटो–घाटो) मा लामो समयसम्म अवरोध नआएको भए र, त्यही समयमा हवाइजहाज तथा हेलिकप्टर दुर्घटना नभएको भएदेखि सन् २०२४ मा नेपाल आउने भारतीय पर्यटकको संख्या शून्य दशमलब सात (०.८) प्रतिशतले घट्नुको सट्टा कम्तिमा ८–९ प्रतिशतले बढ्ने थियो कि ? खासमा अब हामीले नेपाल भ्रमण गर्न आउने भारतीय पर्यटकको संख्या बढाउन विशेष खालका खाका र सहुलियत कार्यक्रमहरु ल्याउनुपर्ने देखिन्छ ।
जस्तो कि, भारतीय पर्यटक स–साना समूह बनाएर नेपाल भ्रमण गर्न आएमा त्यस्ता समूहमा आउने भारतीय पर्यटकलाई केकस्ता र केकति सेवा सुविधाहरु दिने ? अनि ठूला अथवा धेरै संख्यामा भारतीय पर्यटक एकै चोटि नेपाल भ्रमणमा आएमा हामीले त्यस्ता ठूला समूहमा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई केकस्ता र केकति सेवा सुविधाहरु दिने ? सो सम्बन्धमा गहन ढंगले छलफल अनि बहस चलाएर कार्यक्रम र योजना बनाएर धेरैभन्दा धेरै भारतीय पर्यटकलाई नेपाल घुम्न आउन प्रोत्साहित गर्न सकिन्छ । यसका लागि अझै पनि समय घर्किसकेको छैन, कसो ?
हुन पनि भगौलिक दूरीका हिसावले हेर्दाखेरि हजारौं किलोमिटर टाढाका युरोप महादेश, उत्तर अमेरिका महादेश, दक्षिण अमेरिका महादेश, अफ्रिका महादेश एवं धेरथोर संख्यामा अन्टार्कटीकतिर पनि भ्रमण गर्न जानलाई आकर्षित भई रहेका दक्षिणी छिमेकी देश (भारत) का पर्यटकलाई कसरी नेपालमा वार्षिक रुपमा ८–९ लाखदेखि १३–१४ लाखको संख्यामा भित्र्याउने ? सो सम्बन्धमा हामीले अझै पनि सोच्न र आकर्षक कार्यक्रमहरु ल्याउन सकिन्छ, यसमा खासै ढीला भएको छैन । किनभने, अबका दिनमा उत्तरी छिमेकी देश चीनपछि विस्तारै हाम्रो देशको तीनतिर सीमाना जोडिएको दक्षिणको छिमेकी देश (भारत) का पर्यटक नै विश्व भ्रमणमा निक्लने धेरै संख्याको पर्यटकमा दरिने संभावना बढ्दै गएको छ । त्यसैले यो कुरोलाई हामीले बेलैमा मनन गरेर कदम चालिहाल्नु पर्छ । यो कुरो बझेर नै हुनु पर्छ, विश्वका केही देशले त भारतीय पर्यटकलाई लक्षित गरेर दीर्घकालीन र तत्कालीन कार्यक्रम बनाएर व्यवहारमै उतार्न थालिसकेका छन् । केही देशमा त्यसको सकारात्मक असर देखिन थालेको छ ।
थप केही जानकानरी चाहिएः ९८६२४३६०४९, ९८४९९८५९९७
ninamKirat123@gmail.com