विराटनगर । मोरङ उद्योग व्यापार संघको समन्वय तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशको आयोजनामा व्यवसाय र मानव अधिकार विषयक छलफल आयोजना गरिएको छ ।
उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा मानव अधिकारको संरक्षण, सामाजिक उत्तरदायित्वको बारेमा जानकारी गराउन बिहीबार विराटनगरमा उक्त छलफल आयोजना गरिएको हो । कार्यक्रममा व्यवसाय र मानव अधिकारबीचको अन्तरसम्बन्ध, उद्योगी–व्यवसायीको संरक्षण तथा प्रवर्द्धनमा राज्यले निर्वाह गर्नुपर्ने भूमिका, निजी क्षेत्रको सामाजिक उत्तरदायित्व तथा संयुक्त राष्ट्रसंघले सन् २०११ मा जारी गरेको ‘व्यवसाय र मानव अधिकार सम्बन्धी मार्गदर्शक सिद्धान्त’ लगायतका विषयमा छलफल भएको थियो । छलफल मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले व्यवसाय सञ्चालन गर्दा कानुनी व्यवस्था र मानव अधिकारको सम्मानलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले उद्योग तथा व्यवसाय क्षेत्र आर्थिक विकासको प्रमुख आधार भएकाले श्रमिक, उपभोक्ता तथा सरोकारवालाको अधिकार संरक्षणमा निजी क्षेत्र जिम्मेवार बन्नुपर्ने बताए ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयका प्रमुख वीरबहादुर बुढामगरले मानव अधिकारमैत्री व्यवसायिक वातावरण निर्माण गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताए । उनले व्यवसायिक गतिविधिबाट मानव अधिकार उल्लंघन हुन नदिन सचेतना र उत्तरदायित्व दुवै पक्ष महत्त्वपूर्ण रहने उल्लेख गरे । कार्यक्रममा मानव अधिकार अभियन्ता देवी वास्कोटाले कार्यपत्र प्रस्तुत गर्दै व्यवसाय र मानव अधिकारको अन्तर्राष्ट्रिय अभ्यास, नेपालमा यसको अवस्था तथा चुनौतीबारे प्रकाश पारेकी थिइन् । विभिन्न औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानका करिब ५० जना उद्योगी, व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले व्यवसायिक विकाससँगै मानव अधिकार संरक्षणलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए ।