विराटनगर । कोशी प्रदेशमा उत्पादन हुने अदुवा, बेसार, अलैँची र कफी तेस्रो मुलुक निकासीमा सहजीकरण गर्न किसानहरुले सरकारसँग माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र वर्ल्ड बैंकको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी)को आयोजनामा कोशी प्रदेशमा रहेका उच्च मूल्यका कृषिवालीहरुको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागीहरुले निर्यात सहजीकरण आवश्यक रहेको बताएका थिए । कार्यक्रममा अलैँची व्यवसायी निर्मल भट्टराई, बेसार व्यवसायी राजन आचार्य, केशव घिमिरेलगायतले कोशी तेस्रो मुलुक निर्यातको लागी वातावरण बनाउन सरकारसँग माग गरे । उनीहरुले प्रदेशमा आधुनिक प्रयोगशालाको स्थापना गर्न पनि आग्रह गरे । बजारीकरणको समस्या रहेको भन्दै हाल अलैँची, बेसार र अदुवाको निर्यात भारततर्फ बढी रहेको हुँदा अब तेस्रो मुलुकमा निर्यात बढाउन संघीय सरकार र प्रदेश सरकारले आवश्यक नीति बनाउनुपर्ने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिडथेपले प्रदेशमा उत्पादन हुने उच्च मूल्य श्रृंखलाका वस्तु अलैँची, अदुवा र बेसारको उत्पादन वृद्धि र निर्यातमा प्रदेश सरकारको सहयोग गर्ने बताए । उनले नीति निर्माणका लागि आवश्यक सुझाव दिनको लागि निजी क्षेत्रलाई आग्रह गरे । आईएफसीका विजयशेकरले अहिले नेपालको उत्पादन अलैँची, बेसार र अदुवा धेरै मात्रामा भारततर्फ निर्यात भइरहेको बताए । अब यी वस्तु तेस्रो मुलुकमा निर्यात गर्दा उत्पन्न हुने समस्याहरु निर्क्योल गर्न आग्रह गरे । आईएफसी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश मिलेर यी वस्तुको उत्पादन वृद्धि गर्दै निर्यात बढाउने योजना रहेको बताए । कार्यक्रममा आईएफसीका कन्सल्टेन्ट राजन शर्माले अहिलेसम्म कोशी प्रदेशमा उत्पादन हुने वस्तु अलैँची, अदुवा र बेसारको तथ्यांक प्रस्तुत गर्दै आगामी दिनमा निर्यात बढाउन सकिने नितिका बारेमा सुझाव दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशमा चिया, अलैँची, अदुवा, अम्लिसो, छुर्पी, चीज, जडीबुटी, ताजा तरकारी आदि वस्तुहरु भारतलगायत अन्य देशहरुमा निर्यात गरिँदै आएको विषयमा विशेष छलफल भएको थियो । महासंघ कोशी प्रदेशले आगामी दिनमा उच्च मूल्यअन्तर्गत पर्ने अदुवा, अलैची, बेसार जस्ता वस्तुको उत्पादन बढाई निर्यात प्रवर्द्धनमा जोड दिन आइएफसीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका पशुपति पोखरेल, राष्ट्रिय कृषि आधुनिकीकरणका मनोज यादव, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका पुष्पलाल राईले यस्ता वस्तुहरुको गुणस्तर चेक गर्न कोशी प्रदेशमा प्रयोगशाला नभएको बताए । सुपर जोन तोकी कोशी प्रदेशमा उत्पादन भइरहेका बस्तुहरुको बजार अभाव रहेकोले बजारको खोजीलगायतका विषयमा निजी क्षेत्रले पनि पहल गरी कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाइ थियो ।