काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारीसाधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ ।
यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो । शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच यससम्बन्धी सम्झौता भएको थियो । सम्झौतापत्रमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यहीँ जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ । यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताए । उनको अनुसार पहिलो चरणमा जेठ १५ बाट लामो दूरीका सवारीसाधनमा यो व्यवस्था लागू हुनेछ । राष्ट्रिय यातायात व्यवसायीक महासङघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागिएको जानकारी दिए । उनका अनुसार यात्रुको लगेज सुरक्षित राख्ने विषय लामो समयदेखि चुनौतीका रूपमा रहेको थियो । ‘जहाजमा जस्तै अब बसमा पनि लगेज ट्याग प्रणाली लागू हुनेछ । यसले यात्रुको झोला साटिने, हराउने वा गलत व्यक्तिले लैजाने समस्या हटाउनेछ । यात्रुले ढुक्क भएर यात्रा गर्न सक्ने वातावरण बन्नेछ’, उनले भने ।
यस प्रणालीअन्तर्गत बस काउन्टरबाट यात्रुको लगेजमा कोड वा नम्बरसहितको ट्याग लगाइनेछ । सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ । गन्तव्यमा पुगेर ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिने व्यवस्था मिलाइने तयारी गरिएको छ । ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा प्रविधिमैत्री तथा डिजिटल प्रणालीसमेत जोड्ने योजना बनाइएको छ । आवश्यक परे क्यूआर कोड वा डिजिटल रेकर्ड राख्ने अभ्यास पनि सुरु गर्न सकिने बताइएको छ ।
यसैबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि ‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३’ को पनि शुभारम्भ गरेको जनाएको छ । वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो, डुबान तथा सवारी अवरोधलाई लक्षित गर्दै उक्त अभियान सुरु गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले मनसुन अवधिमा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सवारी साधनको प्राविधिक अवस्था परीक्षण, चालकको स्वास्थ्य जाँच, जोखिमयुक्त सडकको निगरानी तथा यात्रु सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ । सार्वजनिक यातायात क्षेत्रमा नयाँ सुरक्षा अभ्यासको रूपमा हेरिएको लगेज ट्याग प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भए यात्रुको विश्वास बढ्नुका साथै सार्वजनिक यातायात सेवा थप व्यवस्थित र सुरक्षित बन्ने अपेक्षा गरिएको छ ।