काठमाडौं । क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधि अभावले बिरामीलाई समस्यामा पारेको छ । क्यान्सरको उपचार हुने अस्पतालमा औषधिको अभाव देखिएको हो ।
भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको छ । किमोथेरापी उपचारमा प्रयोग हुने औषधि कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिन अभाव देखिएको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्जवल चालिसेले जानकारी दिए । अस्पतालमा अहिले तीनै प्रकारका औषधिको अभाव रहेको उनको भनाई छ । उनका अनुसार क्यान्सरको किमोथेरापी दिँदा धेरै किसिमका औषधिको आवश्यक हुन्छ । ‘किमोथेरापीबाट उपचार गर्दा अरु औषधिमा मिसाउन ती औषधिको आवश्यक हुन्छ । कम्तीमा तीन औषधिमध्ये एउटा मिसाएर किमोथेरापीमार्फत क्यान्सर रोगको उपचार गर्नुपर्ने हुन्छ’, उनले भने, ‘अहिले त्यो समूहको कुनै औषधि छैन । औषधि अभावले बिरामीको उपचारमा ठूलो असर परिरहेको छ ।’
उनका अनुसार ती औषधि अस्पतालमा सकिएको दुई हप्ताभन्दा बढी भइसकेको छ । औषधि आपूर्तिकर्ताले भने अस्पताललाई एक महिना अघिदेखि नै औषधि उपलब्ध गराउन नसक्ने जानकारी गराएको उनले बताए । धेरै जसो क्यान्सरका बिरामीको उपचारमा ती औषधिको प्रयोग गरिन्छ । कार्यकारी निर्देशक डा चासिलले अस्पतलामा उपचार गराउन आउन दैनिक ७० जनाले ती औषधिको आवश्यक पर्ने गरेको बताए । हाल औषधिको अभावमा उपचार भइरहेपनि प्रभावकारी नहुने उनको भनाई छ । ‘ती औषधिको अभावमा हामीले उपचार गरिरहेका छौँ ।
उपचार प्रभावकारी हुँदैन । क्यान्सर निको नहुन सक्छ’, उनले भने । उनका अनुसार ती औषधिको बजार मूल्य २ सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म पर्ने गरेको छ । औषधिको अभाव भएपछि बिरामीले भारत र बाहिर महँगो दरमा औषधि किन्ने गरेको उनले बताए ।
चितवनस्थित क्यान्सर अस्पतालमा किमोथेरापी उपचारमा प्रयोग हुने औषधि कार्बोप्लाटिन र सिस्प्लाटिन विगत दुई महिनादेखि छैन । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उत्तम नेपालले अस्पतालमा रहको मौज्जाद सकिएको र बिरामीले नपाएको बताए । ‘अस्पतालमा भएको मौजदा सकिएको छ । हामीले बिरामीलाई उपलब्ध गराउन सकेका छैन । बाहिरका अस्पताल र आपूतिकर्ताले बिरामीलाई दिइरहेका छन्’, उनले भने । उनका अनुसार अस्पतालमा दैनिक २०० जना जना किमोथेपारी लगाउनुपर्ने बिरामी आउने गरेका छन् । औषधि सकिएको जानकारी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा जानकारी गराइसकेको उनले बताए ।
साथै उनले विश्व स्वास्थ्य सङ्गठनलाई औषधि उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए । औषधि व्यवस्था विभागमा सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले अन्तरराष्ट्रिय रुपमा ती औषधिको मूल्य बढेकाले नेपालमा समायोजना गर्न नसकिएको अभाव भएको बताए । ‘आपूर्तिकर्ताले सरकारले तोकेको मूल्यमा आयात गर्न सकेका छैन । त्यही भएर औषधिको अभाव देखिएको हो’, उनले भने, ‘राजपत्रमा प्रकाशित गरेर मूल्य तोकिएकोले अहिल्यै नै संशोधन गर्न समस्या पर्ने भएको छ । तर हामी मध्यमार्गी समाधान तिर गएर चाँडै नै ती औषधि नेपाल भित्र्याउने तयारीमा रहेका छौँ ।’
नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले अन्तरराष्ट्रिय रुपमा ती औषधिको मूल्य बढेकाले नेपालमा पहिल्यै कै मूल्यमा औषधि बिक्री गर्न नसकिएकाले निर्यात नगरिएको बताए । ‘सरकारले विसं २०७२ मा ती औषधिको मूल्य राजपत्रमा प्रकाशित गरेर तोकेको छ’, उनले भने, ‘तर हामी विसं २०७२ को मूल्यमा नै अहिले आएर औषधि दिन सक्दैनौँ भनेर सरकारलाई पहिल्यैदेखि नै भन्दै आएका थियो । सरकारले हाम्रा कुरा नसुनेर अहिलेको अवस्था आएको हो ।’ उनले औषधिको मूल्य समायोजन हुनसाथ औषधि नेपालमा आयात गर्ने बताए । ति औषधिको मौज्जात कति के छ भनेर अध्ययनसमेत भइरहेको उनले बताए ।