ललितपुर । जेसीआई पाटनको आयोजनामा ‘तेस्रो मेयर कप खुल्ला ब्लिट्ज रेट्ङि चेस प्रतियोगिता’ शनिबार सकिएको छ । पाटन हाई स्कुल परिसरमा आयोजित प्रतियोगितामा देशभरबाट आएका एक सय ४२ जना खेलाडीको उत्साहजनक सहभागिता थियो । विभिन्न उमेरसमूह तथा विधामा भएको प्रतियोगिताले चेस खेलप्रेमीहरूबीच विशेष आकर्षण सिर्जना गरेको थियो ।
कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका अध्यक्ष तथा महानगरका प्रवक्ता राजु महर्जनले गरे । कार्यक्रममा जेसीआई पाटनकी अध्यक्ष जेसी. आरती तण्डुकारले सहभागी सम्पूर्ण खेलाडी, अभिभावक तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै चेस खेलको प्रवद्र्धनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
प्रतियोगिताको समापन मेयर चिरीबाबु महर्जनले गरे । विजयी खेलाडीहरूलाई नगद पुरस्कार, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । एक सय ४२ सहभागी खेलाडीहरूलाई पछि पार्दै सल्याम शर्मा प्रथम हुँदै १० हजार नगद पुरस्कारसहित च्याम्पियन बने भने एफएम क्षितिज भण्डारी दोस्रो, सुमन लामा तेस्रो, राजेन्द्र प्रसाद श्रेष्ठ चौथो तथा सीएम नबिन तन्डुकार पाँचौँ स्थान हासिल गर्न सफल भए। त्यसैगरी फुर्बा लामा, बद्रिलाल नेपाली, मिसन दाहाल, एआईएम अभिक शाह तथा सन्देश श्रेष्ठ क्रमशः छैटौँदेखि दशौँ स्थानसम्म रहे ।
विधागत पुरस्कारतर्फ उत्कृष्ट अनरेटेडतर्फ प्रशान्त गुरुङ प्रथम तथा सन्देश लिम्बु द्वितीय भए । उत्कृष्ट महिलातर्फ ग्लोसी श्रेष्ठ प्रथम र सनम श्रेष्ठ द्वितीय भए भने उत्कृष्ट पाभिलियन्सतर्फ सुलभ पन्थी प्रथम तथा श्याम बाबु शाह द्वितीय भए । यू–१६ समूहमा हर्षवर्धन राठी प्रथम तथा शुभम जोशी द्वितीय भए । यू–१४ समूहमा सात्विक मान तुलाधर प्रथम तथा ओस्कार पन्थी द्वितीय भए। यू–१२ समूहमा श्रेष्ठ साहस प्रथम तथा मैनाली दिपन द्वितीय भए भने यू–१० समूहमा रियान्शु पौडेल प्रथम तथा आयम सुवेदी द्वितीय भए ।
एलो १७०० मुनि समूहमा कबिन्द्र सिवाकोटी प्रथम तथा लेखराज भट्टराई द्वितीय भए। भेट्रान समूहमा पूर्णराज खड्का प्रथम तथा पुण्य मान कर्माचार्य द्वितीय हुन सफल भए ।