काठमाडौं । नेपाल टेलिकमले सात सय ५० स्थानीय तहमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । देशभर रहेका सात सय ५३ स्थानीय तहमध्ये अब ३ वटामा मात्रै फोरजी सेवा विस्तार गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा शुक्रबारदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले चार हजार दुई सय मिटर उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय निकायको संख्या सात सय ५० पुगेको कम्पनीले जनाएको छ । यो माथिल्लो डोल्पामा सञ्चालनमा ल्याइएको पहिलो फोरजी साइट हो । अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र शे–फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा फोरजी सेवा पुग्न बाँकी छ । नेपाल टेलिकमले निकट भविष्यमा ती स्थानीय निकायहरूमा समेत फोरजी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिनेछ । टेलिकमको फोरजी सेवा पुगेसँगै अब सो क्षेत्रमा समेत विभिन्न अनलाइन सेवाहरू सहज रूपमा प्रयोग गर्न सकिनेछ ।
यसबाट सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा तथा पदमार्गका पदयात्री र पर्यटकहरूको सञ्चार पहुँच सहज हुनुका साथै विभिन्न प्रशासनिक, सुरक्षा, स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने र दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल नेटवर्कसँग जोड्दै समग्र क्षेत्रीय विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । ‘राष्ट्रको सञ्चार’को रुपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानहरूमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पु¥याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको उल्लेख
गरेको छ ।