काठमाडौं । मेट लाइफ र ग्लोबल सिटिजनले बालबालिकाको गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँच विस्तार गर्ने उद्देश्यसहित ‘फुटवर्क फर फ्युचर्स’ नामक विश्वव्यापी सामाजिक अभियान घोषणा गरेका छन् । कम्पनीका अनुसार फुटबल–थिममा आधारित यो सामाजिक सञ्जाल चुनौतीमार्फत विश्वभरका बालबालिकालाई शिक्षा र खेलकुदमा पहुँच दिलाउँदै आत्मविश्वासी र लचिलो समुदाय निर्माणमा सहयोग पुर्याइने छ ।
अभियानअन्तर्गत सहभागीहरूले इन्स्टाग्राम, लिंक्डइन, एक्स, टिकटक वा फेसबुकमा फुटबल बललाई जगल गर्दै वा जगल गर्ने प्रयास गर्दै गरेको छोटो भिडियो साझा गर्नुपर्ने छ । भिडियो पोस्ट गर्दा ‘फुटवर्क फर फ्युचर्स’ समावेश गर्नुपर्ने वा ग्लोबल सिटिजन एपमार्फत भिडियो पेश गर्न सकिने जनाइएको छ ।
प्रत्येक योग्य भिडियो सबमिसनका लागि मेटलाइफले विश्वभरका समुदाय–आधारित संस्थाहरूलाई अनुदानमार्फत सहयोग गर्न अमेरिकी डलर ५ का दरले, अधिकतम अमेरिकी डलर १ लाखसम्म, फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डमा योगदान गर्ने जनाएको छ । यो अभियान मेटलाइफ फाउन्डेसनले फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डको संस्थापक दाताका रूपमा गरेको ९ मिलियन अमेरिकी डलर योगदानमा आधारित रहेको कम्पनीले जनाएको छ । उक्त कोषमार्फत विश्वभर शिक्षा तथा खेलकुद कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूलाई अनुदान प्रदान गरिँदै आएको छ । मेटलाइफकी ग्लोबल सस्टेनेबिलिटी प्रमुख तथा मेटलाइफ फाउन्डेशनकी अध्यक्ष नुरिया गारसियाले फुटबलप्रतिको विश्वव्यापी आकर्षण र शिक्षाको शक्तिलाई एकताबद्ध गरेर समुदायलाई सशक्त बनाउन सकिने अभियानले देखाएको बताइन् । उनले भनिन्, ‘फुटवर्क फर फ्युचर्सले यस उद्देश्यलाई रमाइलो, व्यवहारिक र सबैका लागि सहज बनाएको छ । प्रत्येक भिडियो विश्वभरका युवाहरूका लागि आत्मविश्वासी भविष्य निर्माणतर्फको महत्वपूर्ण कदम हो ।’ अभियानमा सीप, क्षमता वा अनुभवको पर्वाह नगरी सबै व्यक्तिहरू सहभागी हुन सक्ने जनाइएको छ । सहभागीहरूले फुटबल बल जगल गर्दै वा त्यसको प्रयास गर्दै आफ्नो सिर्जनात्मकता प्रस्तुत गर्न सक्नेछन् ।
यो पहल मे १२ देखि जुलाई १९, २०२६ सम्म वा १ लाख अमेरिकी डलर बराबरको योगदान संकलन नपुगुन्जेल सञ्चालन हुनेछ । त्यसपछि प्राप्त भिडियोहरू साझा गरिए पनि थप आर्थिक योगदानमा समावेश नहुने कम्पनीले जनाएको छ ।
अभियानमा सहभागीहरूलाई साथीभाइ तथा परिवारका सदस्यलाई पनि मनोनयन गर्न प्रोत्साहित गरिएको छ । सबै भिडियो सम्बन्धित सामाजिक सञ्जाल प्लेटफर्मका नियम तथा अभियानका सर्तअनुसार हुनुपर्ने उल्लेख गरिएको छ । योग्य हुन भिडियोमा वास्तविक व्यक्तिले सुरक्षित र जिम्मेवारीपूर्वक फुटबल बल जगल गरिरहेको वा प्रयास गरिरहेको स्पष्ट देखिनुपर्ने छ । कम्पनीका अनुसार आवश्यक मापदण्ड पूरा नगर्ने प्रविष्टिलाई ग्लोबल सिटिजनले अयोग्य घोषणा गर्न सक्नेछ । अभियानमा सहभागी हुने विस्तृत जानकारी ‘फुटवर्क फर फ्युचर्स’ वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।