काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ । बैंकका अनुसार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत मोरङ जिल्ला स्थित नेपाल रेडक्रस सोसाइटीलाई उक्त सहयोग गरिएको हो ।
रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब एवं विपन्न वर्गका बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले सञ्चालन हुने रक्तदान कार्यक्रमलाई सहयोग पु¥याउन बैंकले उक्त डोनर बेड प्रदान गरेको जनाएको छ । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति सुखदेव प्रसाद मण्डललाई डोनर बेड हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा रेडक्रस सोसाइटीका सभापति मण्डलले बैंकप्रति आभार व्यक्त गर्दै यस सहयोगले रक्तदान कार्यक्रम सञ्चालन गर्न तथा रक्तदाताहरूलाई सहज वातावरण उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । त्यसैगरी, बैंकका प्रदेश प्रमुख भुसालले मानव जीवन रक्षासँग प्रत्यक्ष जोडिएको रक्तदान तथा रक्तसञ्चार सेवामा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए। उनले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिए । रक्त संकलन सेवा सञ्चालनका क्रममा डोनर बेड अत्यावश्यक हुने भएकाले बैंकबाट प्राप्त सहयोगले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बैंकका कर्मचारीहरू, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।