चितवन । नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ संघले आफ्नो ३०औँ सम्मेलन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको हो ।
संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सकहरुसहित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । विश्व मेडिकल एसोसिएसनका विज्ञहरुको भिडियो प्रस्तुतीकरण रहनेछ । देशभरबाट प्रतिनिधिमूलक रुपमा चिकित्सकहरु सहभागी हुनेछन् । अध्यक्ष डा. कार्कीका अनुसार सम्मेलनमा चारवटा समूहगत छलफल गरिनेछ । कार्यक्रममा ६० कार्यपत्र र अन्य वैज्ञानिक प्रस्तुतीकरणसहित गरी १०० भन्दा बढी प्रस्तुतीकरण हुनेछन् । सोही अवसरमा संघका नवनिर्वाचित पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण समेत गरिनेछ । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापनजस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिने उनले बताए ।