काठमाडौं ।
स्याङ्जाको वालिङ नगरपालिका, १४ को तमादीमा बिहान गएको पहिरोमा परि १० जनाको मृत्यु भएको छ । मंगलबारदेखि परेको पानीको कारण स्याङ्जामा पहिरो जाँदा एक परिवारका नौ जना सहित दश जनाको मृत्यु भएको छ भने एक जनाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयस्याङ्जाले जानकारी दिएको छ । उद्धार गरिएको मनिषा नेपालीको भने पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षी दिपक नेपाली, २८ वर्षीया उमाकला नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १४ वर्षीय विक्रम नेपाली, १६ वर्षीया विनिता नेपाली, ९ वर्षीय दिवस नेपाली रहेका छन् भने पहिरोमा परि मृत्यु हुनेमा ७ महिने शिशु समेत रहेका छन् ।
कच्ची सडकको कारण जोखिममा रहेको बस्तीको कारण उक्त दुर्घटना हुनपुगेको स्थानीयको भनाइ रहेको छ । सडक निर्माण भएको कारण बस्ती उच्च जोखिममा रहेको थियो । एक बिहानै आएको पहिरोमा परि उनीहरुको मृत्यु भएको हो । त्यसैगरी पहिरोमै परि स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ विर्घामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ वर्षीय विष्णु परियार रहेका छन्। उक्त स्थानमा भने राति २ बजे पहिरो आएको थियो । पहिरो आउदा अन्य व्यक्तिहरु भने भाग्न सफल भएका थिए ।