ललितपुरको हात्तीवनस्थितलिटिल एन्जल्स स्कुलले स्थापनाको चार दशकदेखि प्रविधिमैत्री, वातावरणमैत्री तथा गुणस्तरीय शिक्षालाई निरन्तरता दिँदै आएको जनाएको छ। सन् १९८१ मा स्थापना भएको विद्यालयले आधुनिक पूर्वाधार, हरित वातावरण र नवीन शिक्षण पद्धतिमार्फत विद्यार्थीको शैक्षिक तथा समग्र विकासमा विशेष जोड दिइरहेको छ। विद्यालयले सन् १९९७ देखि कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा ए–लेभल कार्यक्रम सञ्चालन गर्दै आएको छ भने हाल स्नातक तहसम्मका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ। विद्यालयका अनुसार लिटिल एन्जल्स स्कुलले विगत २२ वर्षदेखि देशका उत्कृष्ट १० शिक्षण संस्थाभित्र पर्न सफल हुँदै आएको छ। साथै, विद्यालयले शैक्षिक नतिजालाई पनि निरन्तर उच्च स्तरमा कायम राख्दै आएको दाबी गरेको छ। विद्यालयले शिक्षण प्रणालीमा स्मार्ट कक्षाकोठा, आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पाठ्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ। वातावरण संरक्षणलाई ध्यानमा राख्दै विद्यालयले विद्युतीय सवारी साधनको प्रयोग तथा हरियालीयुक्त परिसर निर्माणमा समेत विशेष ध्यान दिएको छ। विद्यार्थीको बौद्धिक विकाससँगै शारीरिक तथा सामाजिक विकासलाई समेत प्राथमिकता दिँदै विद्यालयले उत्कृष्ट आवासीय सुविधा, फराकिलो खेलमैदान तथा विभिन्न अतिरिक्त क्रियाकलापका पूर्वाधार उपलब्ध गराएको जनाएको छ।