काठमाडौं । दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला हुने भएको छ । ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यावसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ शुक्रबारदेखि मेला हुन लागेको हो ।
भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा हुने मेला दुई दिनसम्म चल्नेछ । मेलाले भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवर्द्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवर्द्धन गरी जिल्लाको आर्थिक विकासमा सहयोग गर्ने जनाइएको छ ।
मेलामा करिब ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । मेलामा मौलिक हस्तकलाका उत्पादनहरू, कृषि उत्पादनहरू, तयारी पोसाक, बालबालिकाका खेलौना, गरगहना, सौन्दर्य तथा श्रृंगारका सामग्री, मूर्ति तथा उपहारका सामग्री, रैथाने तथा अर्गानिक खाद्य सामग्री, इलेक्ट्रोनिक्सलगायत अन्य विविध सामग्रीहरूका ६० भन्दा बढी स्टल रहनेछन् । मेलामा स्थानीय खानाका स्टलहरू पनि रहनेछन् भने विशेष सांगीतिक कार्यक्रम समेत हुनेछ । बालबालिकालाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था हुने आयोजक पक्षले जनाएको छ ।