काठमाडौं । भी–चित्र प्रालि १५औँ एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्सबाट सम्मानित भएको छ । हालै भारतको गोरेगाउँ इस्टस्थित द वेस्टिन मुम्बई गार्डेन सिटीमा आयोजित १५औँ एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा थप दुई स्वर्ण पुरस्कार जित्न सफल भएको हो ।
एजेन्सीले विराटनगर किंग्स एनपीएल सिजन २ को सामाजिक सञ्जाल अभियान तथा नेपाल सुपर लिग सिजन ३ को इभेन्ट व्यवस्थापनमा गरेको उत्कृष्ट कार्यका लागि उक्त सम्मान प्राप्त गरेको कम्पनीले जनाएको छ । बिराटनगर किंग्सका लागि भी–चित्रले क्रिकेट टोलीको प्रचारमा मात्र सीमित नभई फरक अवधारणासहित अभियान सञ्चालन गरेको थियो । किङडम अवधारणामा आधारित उक्त अभियानमा खेलाडी सार्वजनिक गर्ने कार्यक्रम, मस्कट परिचय, ट्रफी टुर र खेलका मुख्य क्षणहरूलाई एउटै निरन्तर कथाको रूपमा प्रस्तुत गरिएको थियो । इन्स्टाग्राम, टिकटक, फेसबुक र युट्युबमार्फत सिजनभरि एक हजार सात सयभन्दा बढी सामग्रीहरू प्रकाशन गरिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट स्टार फाफ डु प्लेसिसको सार्वजनिक घोषणा यस अभियानको मुख्य आकर्षण बनेको थियो, जहाँ एउटै टिजर पोस्टले ११ लाख भ्यूज प्राप्त गरेको थियो ।
दोस्रो स्वर्ण पुरस्कार नेपाल सुपर लिग सिजन ३ को थिम तथा डिजाइनका लागि प्रदान गरिएको थियो । यस अभियानअन्तर्गत दशरथ रंगशालामा २३० भन्दा बढी ब्रान्डिङ सामग्री प्रयोग गरिएको थियो भने नेपालको खेल इतिहासमै पहिलोपटक सात सहरमा ट्रफी टुर आयोजना गरिएको थियो । खेलको मस्कटका रूपमा अटिजम भएका बालबालिकाको सहभागिताले एकता र सामाजिक उत्तरदायित्वको सशक्त सन्देश दिएको थियो । लिग लगातार ३० दिनसम्म राष्ट्रिय ट्रेन्डमा रह्यो, जसले टिकटकमा ४५ करोड ९० लाख भ्यूज र १२ करोड ३४ लाख रुपैयाँबराबरको पीआर मिडिया भ्यालु सिर्जना गरेको थियो ।