काठमाडौं ।नेपाली मिश्रित मार्सल आर्ट्स खेलाडी रविन्द्र ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा स्थान बनाएका छन् ।
बिहीबार मकाउस्थित ग्यालेक्सी एरेनामा सम्पन्न क्वाटरफाइनल प्रतिस्पर्धामा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै रविन्द्र अन्तिम चारमा पुगेका हुन् । यससँगै उनी रोड टु युएफसी प्रतियोगितामा फाइट जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
‘बझाङको बाघ’ उपनामले परिचित रविन्द्रलाई समर्थन गर्न हजारौं नेपाली समर्थकहरू रंगशालामा उपस्थित भएका थिए । उनको जितपछि सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय एमएमए समुदायसम्म नेपाली खेलाडीको चर्चा चुलिएको छ ।
रविन्द्रले अब सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।यसअघि रविन्द्रले म्याट्टी इयानसँग खेल्ने तालिका तय भएको थियो । तर इयान घाइते भएपछि फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनले प्रतिस्पर्धामा स्थान पाएका थिए ।
ब्यान्टमवेट तौल समूहमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले यो समूहको उपाधि जित्न सफल भए युएफसीको मुख्य मञ्चमा स्थान बनाउनेछन् । त्यसो भए उनी युएफसीमा पुग्ने पहिलो नेपाली खेलाडीका रूपमा इतिहास रच्नेछन् ।
रविन्द्र पछिल्लो समय नेपाली एमएमएका सबैभन्दा चर्चित र सम्भावनायुक्त खेलाडीमध्ये एक मानिन्छन् । उनले गत वर्ष भारतको ग्रेटर नोइडामा सम्पन्न मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै उपाधि जितेका थिए । उक्त प्रदर्शनपछि उनको अन्तर्राष्ट्रिय चर्चा झन् बढेको थियो ।अब नेपाली समर्थकहरूको नजर रविन्द्रको सेमिफाइनल भिडन्ततर्फ केन्द्रित भएको छ ।